रामेछाप : तपाई काम विशेषले रामेछाप विमानस्थल जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस् तपाईले लाज लुकाएरै भएपनि खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने परिस्थिति आउन सक्छ । विमानस्थलको टर्मिनल भवनमा चर्पी नहुँदा विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी र हवाई यात्रु समेत खुला रुपमै दिसापिसाब गर्न बाध्य छन् ।
विमानस्थल टर्मिनल भवन र चर्पी भूकम्पले क्षति पु-याएपछि पुनर्निर्माणका लागि ठेक्का लगाएपनि ठेकेदारले समयमा काम सम्पन्न नगर्दा खुला ठाउँमै दिसापिसाब गर्नुपर्ने वाध्यता सिर्जना भएको हो ।
‘कपडाले कति पो छोपिन्छ र ? कपडाले बेरेको ठाउँमा दिसापिसाब गर्न साह्रै गाह्रो हुन्छ, विमानस्थल कार्यालयका प्रमुख केदारप्रसाद सत्याल भन्नुहुन्छ ‘सबैभन्दा पहिले चर्पी पुनर्निर्माणको काम गरिदिन निर्माण व्यवसायीलाई भन्दा भन्दा आफैं थाकिसकें ।’
चर्पीको व्यवस्था मिलाउन वायुसेवा कम्पनीहरुले पनि नागरिक उडड्यन प्राधिकरणको कार्यालयलाई पटक पटक अनुरोध गर्दै आएको तारा एयर रामेछापका स्टेशन प्रमुख प्रवीण सुवेदीले बताउनुभयो । ‘आजभोलि सोलु हुँदै सयौं स्वदेशी विदेशी रामेछाप विमानस्थलमा उत्रिने भएकाले चर्पी नभइ नहुने भएको छ, विदेशीले चर्पी नभएको विमानस्थल भनेर जिब्रो काढ्छन्’ सुवेदीले भन्नुभयो ।