
म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा ‘एक घर एक धारा’ निर्माण योजना प्रभावकारी रूपमा कार्यान्वयन भएको छ। भगवतीको सबै बस्तीमा पुगेको सडक सुविधाले घरघरमा खानेपानी आयोजनाको निर्माण सामग्री लैजान समेत सहयोग पुगेको हो।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको राममन्दिरमा निर्माण भएको खानेपानी आयोजना मार्फत ७६ घरधुरी लाभान्वित भएका छन्। रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारा मार्फत खानेपानी सुविधा विस्तार गर्ने आयोजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको थियो।
घरघरमा निजी धारामा नियमित रूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि दैनिकी सहज भएको राममन्दिर टोल विकास समितिले जनाएको छ। रघुगंगा गाउँपालिकाको ४९ लाख रुपैयाँ अनुदान सहयोग र स्थानीयबासीको १२ लाख रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो। घट्टटोलको मुहानबाट ल्याएको पानी दुई वटा ६ हजार र २ वटा पाँच हजार लिटर क्षमताको टंकीमा संकलन गरी करिब आठ किलोमिटर पाइपलाइन मार्फत घरघरमा वितरण गरिएको छ।

खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर एक हप्ताभन्दा बढीका दरले श्रमदान गरेका थिए। राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ। आगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत र जीवनस्तर सुधारमा सहयोग पुगेको स्थानीयले बताएका छन्।


648 पटक हेरिएको 

