
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त दैनिक १७ करोड लिटर पानी मध्ये दैनिक दुई करोड लिटर पानी पाइप परिक्षणका लागि प्रयोग हुने भएको छ । विगतमा पर्याप्त पानी नभएका कारण परीक्षण हुन बाँकी नयाँ पाइप लाइनमा ती पानी हालेर परिक्षण गरिने भएको हो ।
आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारीे छ ।
सुन्दरीजलमा आउने पानीमध्ये तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट, १० करोड लिटर पानी पुरानो पाइपबाट र २ करोड लिटर पानी परीक्षणका लागि छुट्याइने निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
नयाँ पाइपलाइनबाट पानी वितरण हुने क्षेत्र
उपनिर्देशक श्रेष्ठका अनुसार वितरण पाइपको ४१० किमी नयाँ पाइपलाइनको परिक्षण भईसकेको छ । ती क्षेत्रमा नयाँ पाईपलाइनबाटै पानी वितरण हुनेछन् ।
नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँट लगायत क्षेत्रमा नयाँ पाइपबाट पानी वितरण गरिनेछ । असार देखियता यी ठाउँमा ट्याङ्करको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको थियो । “पानी काठमाडौं नआउँदा पनि हामीले परीक्षण निरन्तर गरिरहेका थियौँ ।” उहाँले भन्नुभयो ।
निर्देशनालयले पानी वितरणका लागि निर्माण गर्नुपर्ने जम्मा १० वटा ट्याङ्की मध्ये अहिलेसम्म नौ वटा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।
भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्याङ्की सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।
मेलम्ची सुरुङबाट सुन्दरीजल आईसकेको पानीलाई काठमाडौ उपत्यका खानेपानी लिमिटेडले यही आईतबार देखि काठमाडौ उपत्यकाबासीको धारा धारामा पठाउने तयारी गरेको छ ।


2390 पटक हेरिएको 

