![]()
खोटाङ : हलेसी तुवाचुङका प्रमुख इवन राईले अघिल्लो स्थानीय चुनावको मुख्य एजेन्डामा खानेपानी समस्या समाधान गर्ने बताएर जितेका थिए । तर कार्यकाल सकिन लाग्दा समेत खानेपानीको समस्या भने ज्युँका त्युँ छ । जिल्लाको सुक्खा क्षेत्रमा पर्ने उक्त नगरपालिकामा पुस्तेनी खानेपानी समस्या झेलिरहेका सर्वसाधारण यतिबेला समाधान नभए पछि रुष्ट बनेका छन् ।
नगरप्रमुख राई आफैं उपभोक्ता समितिका अध्यक्ष भएको बृहत पम्पिङ प्रविधिको खानेपानी आयोजना अलपत्र परे पछि स्थानीय झन चिढिएका हुन् । हलेसी तुवाचुङ–१ बाहुनीडाँडा कदुवाको लिलिमाबेसीबाट डिकुवाको भुम्जुडाडाँ (करिब १५ सय मिटरमाथि) र हलेसी तुवाचुङ–८ सल्लेको महादेवबेसीबाट महादेवस्थानको तुवाचुङ काभ्रेडाँडासम्म (करिब १५ सय मिटरमाथि) पम्पिङ गरेर उक्त नगरपालिकाको सात वटा वडाका करिब ३८ सय २५ घरधुरीलाई खानेपानी पुर्याउन सुरु गरिएको योजना अलपत्र परेको आयोजना अनुगमन समितिका अध्यक्ष डिल्ली चाम्लिङ भनाइ छ ।
बेलामा खानेपानी योजना नसकिए पछि हलेसी क्षेत्रमा प्रतिलिटर एक रुपैयाँले पानी किन्नु परेको चाम्लिङ बताउँछन् । पानी किनेर होटल व्यवसाय सञ्चालन गर्नु परेकाले समस्या आएको हलेसी बजारका व्यवसायी कमल राईले बताए । ‘पानीको समस्या समाधान गर्छु भनेर भोट मागे,’ राईले भने, ‘तर पानीको समस्या जस्ताको तस्तै ।’
पाइपमा खिया लागिसक्दा पनि काम अधुरै
लिलिमाबेसीबाट भुम्जुडाँडा र महादेवबेसीबाट तुवाचुङको काभ्रेडाडासम्म एक एकलाख लिटर क्षमताको ६/६ वटा ट्यांकी तथा भुम्जुडाडा र तुवाचुङको काभ्रेडाँडामा चार/चार लाख लिटर क्षमताको ३/३ वटा ठूलो ट्यांकी निर्माण र मेन लाइनको पाइप विस्तार गर्ने कामको जिम्मा दिवा–महादेव खिम्ती निर्माण कम्पनीले लिएको हो ।
उक्त निर्माण कम्पनीले ६/६ किलोमिटर पाइपलाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडान लगायतका कामहरू गर्नुपर्ने संझौता छ । यसमध्ये महादेवबेसीदेखि तुवाचुङको काभ्रेडाँडा लाइनको सल्लेनी भन्ने ठाउँमा पर्ने ५ नम्बर र लिलिमाबेसीदेखि भुम्जुडाँडा लाइनको ४ र ५ नम्बरको ट्यांकी बन्न बाँकी नै छ । अन्य ट्यांकीको काम पनि पूरा हुन बाँकी रहेको चाम्लिङले सुनाए ।
महादेवबेसीबाट तुवाचुङको काभ्रेडाँडामा निस्कने मेन लाइनको पाइप महादेवबेसी खोलै–खोला लडाएर निकालिएकाले खिया लागिसकेको र पाइप पनि सुरक्षित नहुने अनुगमन समितिका सदस्य प्रदीप माइलाले बताए । खोलाको पाखैपाखा पाइप बिछ्याउने सर्वेक्षण गरिए पनि त्यसको विपरीत सजिलोका लागि करिब दुई सय मिटर पाइप खोलै–खोला बिछ्याइएकाले समस्या आएको उनले बताए ।
पानी वितरणको काम चाहिँ रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी र लामा कन्स्ट्रक्सनले लिएको हो । यसमध्ये सल्लेको महादेवबेसीबाट तुवाचुङको काभ्रेडाँडासम्म (करिब १५ सय मिटरमाथि) निकालिएको पानी २०७७ असारसम्ममा वितरण गर्ने गरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले ठेक्का लिएको थियो ।
करिब २६ करोड ८५ लाख रुपैयाँको बजेटमा उक्त नगरपालिकाको वडा ५ दुर्छिम, ६ मंगलटार र ७ महादेवस्थानमा अघिल्लो असारसम्म पानी वितरण गरिसक्ने गरी २०७५ असार ३१ मा सम्झौता गरेको थियो । साभार :डम्बरसिं राई/कान्तिपुर दैनिक


951 पटक हेरिएको 

