गाउँभरिकै लागि एउटा धारा, त्यो पनि ३० बर्ष पुरानो

🔗
4
Shares

पर्सा : एउटा धाराको पानीले कति घरलाई पुग्ला ? १० घर अथवा २० घरलाई ? तर पर्साको सखुवा परसौनी गाउँपालिका –४ ओझैया परसौनी गाउँका झण्डै १५० घरपरिवार एउटै धाराबाट पानी उपभोग गरिरहेका छन् ।

थारू, मुस्मिल, सोनार तथा दुसाद जातिको बसोबास रहेको ओझैया परसौनीमा तीन घरको मात्र व्यक्तिगत धारा छन् ।

‘ओझैया परसौनी गाउँका ३ घरमा व्यक्तिगत धारा छन्, बाँकीले एउटै धाराबाट पानी उपभोग गरिरहेका छौं’ शिव औझैयाले भन्नुभयो । धाराको पानी पर्याप्त नभएपछि नजिकैको डोरवा खोलाको दुषित पानी पिउन वाध्य भएको ओझैयाले बताउनुभयो ।
एउटा धारा पनि तीस बर्ष पुरानो

ओझैया परसौनी गाउँमा भएको एउटा धारा पनि तीसबर्ष पुरानो भइसकेको छ ।  आजभन्दा ३० बर्ष पहिला नेपाल रेडक्रस सोसाइटीले जडान गरेको धाराबाट आज सम्म पनि पानी उपभोग गरिरहेको ओझैया परसौनीका शिव ओझैयाले बताउनुभयो ।

‘३० वर्ष पहिले रेडक्रस सोसाइटीले एउटा सार्वजनिक धारा जडान गरेको बाहेक अरु कुनै पनि निकायले खानेपानीको समस्याका विषयमा चासो राखेका छैनन्, सरकारी निकायको त यहाँ उपस्थिति नै छैन भन्दा पनि हुन्छ’ उहाँले भन्नुभयो ।

ओझैया परसौनी गाउँ दुई बर्ष अघि नै खुला दिसामुक्त भएको गाउँ हो । तर पानीको पर्याप्त व्यवस्था नहुँदा खुला दिसामुक्त ओझैया परसौनी गाउँका शौचालय पूर्ण रुपमा प्रयोगमा आएका छैनन् ।
धाराको पानी अपुग भएपछि गाउँलेहरू खानेपानी देखि कपडा धुन सम्म डोरवा खोलामा भर पर्दै आएका छन् । भाँडा माझ्न, लुगा धुन, गाईवस्तुलाई पानी खुवाउन डेरावा खोलाकै भर पर्दै आएका ओझैया परसौनीका बासिन्दा भन्छन् ‘हामीले यो जुनीमा सुरक्षित खानेपानी पिउन लेखेको रहेनछ ।’

सखुवा परसौनी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार जयसवाल समक्ष गाउँमा खानेपानी समस्याको विषयमा दर्शाएको र आफूहरु आशावादी रहेको बलबहादुर दुसादले बताउनुभयो । गाउँपालिका अध्यक्षले खानेपानी समस्याको समाधानका लागि पहल गर्ने वचन दिएको उहाँले बताउनुभयो ।

ओझैया परसौनीको विद्यालय तथा स्वास्थ्य संस्थामा समेत खानेपानीको अभाव रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार