बजार सफाइमा वडा अध्यक्षको सक्रियता

मुगु : मुगुको छायानाथ रारा नगरपालिकाको वडा नं. २ का वडा अध्यक्षले बजार क्षेत्रको सफाइमा सक्रियता बढाउन थाल्नुभएको छ । मुगुको सदरमुकाम गमगढीको बजार क्षेत्रको सफाइको अवस्थाका विषयमा वडा अध्यक्ष परेग चौलागाइ र वडाका पदाधिकारीहरुले मंगलबार अनुगमन गरेका छन् ।

वजारलाई सफा र सुन्दर बनाउन अनुगमन गरी बजारक्षेत्रमा निस्केको फोहोरको सही व्यवस्थापनका लागि पहल गरिएको वडा अध्यक्ष चौलागाइले जानकारी दिनुभयो । ‘खुद्रा पसल र होटेल लजबाट उत्पादन हुने फोहोरहरुलाई व्यवस्थापन गर्नका लागि हामीले आग्रह गर्यौं’ चौलागाइले भन्नुभयो ।

होटल तथा लज र पसलले आसपासको नालीमै फोहोर फालिएको पाइएको र उनीहरुलाई आफ्नो फोहोर आफैले व्यवस्थापन गर्न सचेत गराइएको उहाँले बताउनुभयो ।

एक पसल एक डस्टविन राखिने

आफ्नो पसल तथा होटलबाट उत्पादित फोहोरलाई आफैले व्यवस्थापन गर्न अब एक पसल एक डस्टविन राखिने भएको छ । फोहोर व्यवस्थापनमा लापरवाही गरे वडा कार्यालयबाट दिइने सेवा सुविधा बन्द गर्ने भएपछि फोहोरलाई डस्टविनमा राखी व्यवस्थापन गर्न होटल तथा पसल सञ्चालक सहमत भएका हुन् ।

सीसाजन्य फोहोर र अन्य ठोस फोहोरको व्यवस्थापनका लागि भने वडा नं. २ को ससुराली डाँडा आसपासमा डम्पिङ खाल्डो बनाइएको छ । खाल्डोलाई प्रयोगकर्तामैत्री बनाउने विषयमा पनि जनप्रतिनिधि र होटल व्यवसायी बीच छलफल भएको छ ।

सञ्जु तिमल्सिना, हिरिसडेक मुगु


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार