
काठमाडौ : महानगरपालिकाले होटल रेष्टुरेन्टका शौचालय सार्वजनिक प्रयोजनका लागि भए नभएको पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्ह बनाएको छ । सार्वजनिक शौचालय प्रयोगकर्तालाई शौचालय भएको स्थान पहिचान गर्न र सबै सार्वजनिक शौचालयको पहिचान चिन्हमा एकरुपता ल्याउन सङ्केत चिन्ह तयार पारिएको हो ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए पछि पहिलो बैठकमा मेयर बालेन शाहले काठमाडौ उपत्यकामा सार्वजनिक शौचालयको समस्या समाधानका लागि होटल, रेष्टुँराको शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न प्रस्ताव गर्ने निर्णय गर्नुभएको थियो । निर्णय अनुसार कतिपय होटल तथा रेष्टुरेन्ट तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले समेत आफ्ना शौचालय सार्वजनिक रुपमा खुला गरिसकेको घोषणा भईरहेका छन् ।


1677 पटक हेरिएको 

