चितवन : चितवनको सरसफाइमा निरन्तर क्रियाशील वे ग्रुप नामक युवाहरुको समूहले गुट्खाको खोलमुक्त अभियान चलाएका छन् । सरसफाइ अभियानका क्रममा गुट्खा फोहोरको कारक भएको पाइएकाले यसविरुद्ध अभियान थालेको वे ग्रुपका भोजनारायण कँडेलले जानकारी दिनुभयो ।
‘हामीले सरसफाइको शुरुवात गरेको ७५ हप्ता पार भइसकेको छ, यस क्रममा गुटखाले शहरमा फोहोर भएको पायौं र हामी गुटखामुक्त अभियानमा एक भएर लागेका हौं’ कँडेलले भन्नुभयो ।
गुट्खा खाएर फालिएका खोल संकलन गर्न पनि गाह्रो हुने र यसले शहरलाई तुल्याउने भएकाले यो अभियान आवश्यक परेको वे ग्रुपका अर्का अभियन्ता नारायण सापकोटाले बताउनुभयो । ‘गुटखा नियन्त्रण गर्न सके यसले मानव स्वास्थ्यको पनि हीत हुनेछ, अहिले पैसा, वातावरण र स्वास्थ्य तीनैवटा पक्षमा असर गरिरहेको छ’ उहाँले भन्नुभयो ।
वे ग्रुपले चितवनलाई गुट्खामुक्त बनाउन यसविरुद्ध हस्ताक्षर संकलन गर्दै अभियानमा सहयोग गर्न अपिल गरेको छ । विगत १६ महिनादेखि सरसफाइ अभियान शुरु गरेको वे ग्रुपले हरेक सोमबार चितवनका विभिन्न ठाउँको सरसफाई गर्दै आएको छ ।
‘हप्तामा एक दिन एक छिन समाजका लागि’ भन्ने नारा सहित अभियान चलाइरहेको वे ग्रुप फेसबुकबाट गठन भएको युवाहरुको समूह हो ।


890 पटक हेरिएको 

