धनकुटा : केही समय अघिसम्म घर सँगै रहेको गाईगोठ अहिले घरभन्दा टाढा बनाइएका छन् । धुँवामा आँखा मिच्दै खाना पकाउने आमा बुबा धुलो रहित चुल्होमा खाना पकाउँछन् ।
मूलबाटो देखि गाउँ सम्म जाने बाटोको दायाँबायाँ फोहोर फाल्ने खाल्डो बनाइएका छन् । बस्तीभरिका घरघरै चिटिक्कका शौचालय बनाएका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ पहिरे गाउँको परिचय यत्तिले मात्र पुरा हुँदैन ।
पहिरे गाउँको घर घरमै भाँडा सुकाउने चाङको व्यवस्था गरिएको छ । सबैभन्दा राम्रो कुरा त पहिरेका बासिन्दाको बानी व्यवहारमा आएको परिवर्तन हो भन्नुहुन्छ सामाजिक परिचालक छत्र याख्खा ।
‘पहिले यो गाउँ फोहर थियो, दुर्गन्धित थियो, अहिले त काँचुली नै फेरेको भन्दा पनि फरक पर्दैन, यहाँका समुदाय सुरक्षित पानी र खाना मात्र खान्छन्, हात धुने विधिका बिषयमा जानेका छन् र त्यही अनुरुप धुन्छन्, सरसफाइको हिसाबले यो गाउँ अरु टोलको तुलनामा अग्रणी स्थानमा छ’ सामाजिक परिचालक याख्खाले भन्नुभयो ।
पहिरेमा नागरिक सचेतना केन्द्र स्थापना भएपछि महिलाहरु संगठित भएर गाउँको सरसफाइमा जुटेका हुन् । ५७ घरको बसोबास रहेको पहिरेमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनबोर्ड ) र पर्डेप नेपालले सञ्चालन गरेको पूर्ण सरसफाइ अभियानले यस्तो परिवर्तन सम्भव भएको पर्डेप नेपालकी Wash Officer उषा खड्काले जानकारी दिनुभयो ।
‘पहिले त प्लाष्टिक जताततै फ्याँकिएको हुन्थ्यो, घरमै गाइवस्तु पाल्ने चलन थियो, अहिले घर आँगनमा गाइवस्तुको गोबर देख्न पाइदैन, हामीले खाल्डा खनेर फोहोरको व्यवस्थापन गर्दै आएका छौं’ उहाँले भन्नुभयो ।
पहिरे गाउँका बासिन्दाको स्वास्थ्यमा पनि सुधार
घरभित्रको धुँवामुक्त घोषणा भएको पहिरेका बासिन्दाको स्वास्थ्य पनि सुधार भएको छ । कुनै समय पानीजन्य रोगहरु झाडापखला, आउँ, मासीबाट ग्रस्त हुने गरेका पहिरेका बासिन्दामा अहिले यस्तो समस्या नआएको सरसफाइ सहजकर्ता निर्मला बजगाईले बताउनुभयो ।
‘पहिले धुवाँरहित चुल्हो बनाए पनि प्रयोग गरेका थिएनन्, शौचालयको अवस्था पनि त्यस्तै थियो, तर अहिले धुँवारहित चुल्होमै खाना पकाउँछन्, सबैले शौचालय प्रयोग गर्छन्, जसका कारण विभिन्न रोगबाट ग्रस्त हुनुपरेको छैन’ निर्मलाले भन्नुभयो ।