धादिङ : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीका लागि धादिङमा विभिन्न तालिम सञ्चालन गरिएको छ । धादिङमा खानेपानी उपभोक्ता समितिका लागि खानेपानी आयोजना सम्पन्न भएपछिको तालिम तथा खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम दिइएको हो ।
खानेपानी उपभोक्ता समितिका लागि दिइएको तालिममा खानेपानी मुहान दर्ता, खानेपानी सुरक्षा योजना, स्थानीय मर्मत संभार कार्यकर्ता र उपभोक्ता समितिको काम कर्तव्य र अधिकारका साथै खानेपानी आयोजना पश्चातको कार्ययोजना निर्माण र खानेपानी प्रणालीको विषयमा जानकारी दिइएको फोकस नेपालका जनस्वास्थ्य ईन्जिनियर राजेश छत्कुलीले जानकारी दिनुभयो ।
यस्तै खानेपानी सुरक्षा योजना टोलीलाई दिइएको तालिममा खानेपानी आयोजना सञ्चालित समुदायमा मुहान देखि मुख सम्म पुग्दा हुनसक्ने प्रदुषण, र त्यसलाई नियन्त्रणका उपायको विषयमा जानकारी गराइएको थियो ।
अक्सफामको सहयोगमा फोकस नेपालद्वारा सञ्चालित नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत खानेपानी उपभोक्ता तथा पदाधिकारीका लागि तालिम दिइएको जनस्वास्थ्य प्रवद्र्धन अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
फोकस नेपालले अक्सफामको सहयोगमा धादिङको वेनीघाट रोराङ गाउँपालिका र साविकको दार्खाका साथै कुम्पूर गाविसको भुकम्प प्रभावित समुदायमा खानेपानी सरसफाइ तथा स्वच्छता, विपद जोखिम न्यूनीकरण, जिविकोपार्जन, आवास र लैङ्गिक तथा सुरक्षा सँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।


972 पटक हेरिएको 

