नयाँ जनप्रतिनिधि आएपछि फाकफोकथुमको फोहोर व्यवस्थापन

तीन जनाले गरे निःशुल्क जग्गा दान

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षौंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ। गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजार सरसफाइ थालिएको हो।

जनप्रतिनिधि सहितको टोलीले बजारमा वर्षौंयता यत्रतत्र रहेको फोहोर सरसफाइ गरेको छ भने अब नियम नै बनाएर यसको दिगो व्यवस्थापन गरिने भएको छ। व्यवस्थापनको उपाय नहुँदा बजारका होटल र पसलबाहिर फोहोरको रास लागेको थियो।

व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि थुपारेको फोहोर अब व्यवस्थापनको टुंगो लागेको व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण लामिछानेले बताउनुभयो। ‘यो बजारको फोहोर व्यवस्थापन गर्न हामीले पटक–पटक गाउँपालिकालाई ज्ञापनपत्र बुझायौं तर सुनुवाई भएको थिएन,’ उहाँले भन्नुभयो ‘अस्ति वैशाखमा नयाँ जनप्रतिनिधि आए यता यहाँको फोहोर व्यवस्थापनमा उहाँहरूले ध्यान दिनुभयो त्यसपछि काम सुरु भयो।’

गाउँपालिकाको भर्खरै बसेको कार्यपालिका बैठकले यहाँको फोहोर विसर्जन गर्न डम्पिङ साइट व्यवस्थापन गरेको हो। ‘वर्षौंयता रास लागेको फोहोर अब सफा हुने भएपछि बजारबासी हर्षित छन्, उनीहरूले सहयोग पनि गरेका छन्,’ लामिछानेले भन्नुभयो, ‘अब व्यवस्थापनको नियम नै बनाएर यो काम दिगो बनाउन गाउँपालिकालाई सुझाव दिएका छौं।’

शुक्रबारे बजार रहेको फाकफोकथुम वडा – ३ का अध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको फोहोर समस्या जटिल रहेका बेला समाधानको उपाय भेटिएको बताउनुभयो। उहाँले गाउँपालिकामा फोहोर व्यवस्थापनको कार्ययोजना नै नभएका बेला भर्खरैको कार्यपालिका बैठकले योजना बनाएको बताउनुभयो। ‘बोतल, प्लास्टिक र अन्य कुहिने–नकुहिने फोहोरले बजार दुर्गन्धित भइसकेको थियो, अब भने त्यो समस्या हुने छैन।’ उहाँले भन्नुभयो ।

यहाँको फोहोर करिब ५ किलोमिटरमा रहेको जमिनमा विसर्जन गरिने भएको छ। स्थानीय नस्वाखोला भन्ने ठाउँको जंगलमा जमानसिंह, रेवत र कमल पौडेलले जमिन निःशुल्क दिएपछि फोहोर व्यवस्थापन गर्न सकिने भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो। ‘दाताले फोहोर व्यवस्थापनका लागि २ रोपनी जमिन दिनुभएको छ, ‘जमिन गाउँपालिकाको नाममा आउन बाँकी नै रहेपनि फोहोर व्यवस्थापन सुरु भइसकेको छ।’ उहाँले भन्नुभयो ।

उहाँले निरन्तर रूपमा महिनाको कम्तीमा २/३ पटक बजार सफाइ गर्ने बताउनुभयो। ‘यसअघि पनि गाउँपालिकाले फोहोर संकलनका लागि डस्टबिन त वितरण गरेको रहेछ तर डस्टबिनमा संकलित फोहोर कहाँ विसर्जन गर्ने भन्ने उपाय थिएन,’ उहाँले भन्नुभयो ‘अब यहाँको मात्र होइन, पालिकाका अरू बजारको फोहोर पनि यहाँ विसर्जन गर्न सकिने भएको छ। बजारबासी पनि फोहोर व्यवस्थापन हुने भएपछि उत्साही छन्।’

पालिकाले पनि निकै समस्याका रूपमा रहेको शुक्रबारे बजारको फोहोर व्यवस्थापन हुनु उपलब्धिमूलक भएको बताएको छ। उपाध्यक्ष कल्पना राईले गाउँ कार्यपालिका बैठकले फोहोर व्यवस्थापनका लागि जमिन भेटेको र बजार सरसफाइमा सघाएको बताउनुभयो । यो खबर नागरिक दैनिकले छापेको छ ।

‘शुक्रबारेमात्र होइन, पुरानो पञ्चमीलगायत अन्य बजारको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले बजेट नै छुट्याएको छ, फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदूषण र खानेपानीसमेत दूषित हुने जोखिम बढेपछि फोहोर विसर्जन थालिएको हो।’उहाँले भन्नुभयो । उहाँले आवश्यक परे कार्यविधि नै बनाएर गाउँपालिकाले स्थानीय बजारहरूको फोहोर व्यवस्थापन गर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार