कैलाली : टीकापुरमा खानेपानीको मुख्य पाइप माथि वर्षाते पानी व्यवस्थापन नाला (ड्रेन) निर्माण भईरहेको छ। टीकापुर नगरपालिका वडा नं। १ को खडक चोक नजिकै सतही नाला खानेपानीको मुख्य पाइप माथि निर्माण भईरहेको हो । वर्षायाममा हुने डुबानको व्यवस्थापनका लागि निर्माण भइरहेको नाला खानेपानीको मुख्य पाइपमाथि निर्माण हुना थालेपछि स्थानीयले विरोध जनाएका छन् ।
खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न नमिल्ने टीकापुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरेशकुमार खत्रीले बताउनुभयो ।
टीकापुर नगरपालिकाका इञ्जिनियर नवराज जोशीले खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न नहुने बताउनुभयो । ‘हामी अहिले नै यसबारेमा बुझ्छौं, पाइपमाथि नाला निर्माण गर्न मिल्दैन । निर्माण कम्पनीले पाइप सारेर नाला बनाउनु पर्छ’ उहाँले भन्नुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी खानेपानी आयोजना व्यवस्थापन कार्यालयले निर्माणको अनुगमन गरिरहेको छ । खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न नमिल्ने टीकापुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरेशकुमार खत्रीले बताउनुभयो । उहाँले उक्त पाइप दायाँबायाँ सारेर मात्रै नाला निर्माण गर्न सुझाउनुभयो ।
अध्यक्ष खत्रीले भन्नुभयो ‘निर्माण कम्पनीसँग हामी कुरा गर्दैछौं । खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न मिल्दैन, पाइप सार्नुको विकल्प छैन ।’
वर्षाते पानी व्यवस्थापनका लागि तुँदी कन्स्ट्रक्सनले नाला निर्माण गरिरहेको छ । निर्माण कम्पनीका इञ्जिनियर उदय पोखरेलले खानेपानीको मुख्य पाइप भएका कारणले नाला निर्माण हुँदा कुनै समस्या नहुने बताउनुभयो । ‘यो पाइपको आयु लामो हुन्छ, यसबाट पानी वितरण नहुने भएकाले समस्या हुँदैन’ उहाँले भन्नुभयो ‘हामीलाई नगरपालिकाले दिएको मापदण्ड अनुसार सडकको ३८ मिटर चौडाईमा नाला निर्माण गरिरहेका छौं, यसले खासै समस्या हुँदैन ।’
निर्माण कम्पनीले खानेपानीको पाइप सार्ने दायित्व र जिम्मा आफूहरुको नभएको जिकिर गरेको छ । तर स्थानीयले भने खानेपानीको पाइप माथि नाला निर्माण कार्य तत्काल रोक्न आग्रह गरिरहेका छन्। उनीहरूले नगरपालिकाले हस्तक्षेप गरेर भए पनि मानव स्वास्थ्यसँग जोडिएको कुरामा लापरबाही गर्न दिन नहुने बताएका छन्।
स्थानीय व्यापारी तपेन्द्र क्षेत्रीले खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण हुनु दुःखद् भएको बताउनुभयो । ‘खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण भइरहेको छ, भोलि पाइप मर्मत गर्नुपर्ने अवस्थामा नाला नै भत्काउनु पर्ने हुनसक्छ’ उहाँले भन्नुभयो ‘पाइपको दायाँबायाँ नाला निर्माण गर्नुको साटो पाइपमाथि नै निर्माण हुनुले बनाउने र बिगार्ने काम मात्रै हुने भयो ।’
स्थानीय युवा प्रकाश खत्रीले खानेपानीको पाइप विस्तारका क्रममा अन्दाजका भरमा पाइप हालेका कारण निर्माणमा समस्या आइरहेको बताउनुभयो । ‘अन्दाजका भरमा पाइप हालिएको छ, निर्माण हुँदा कयौं पटक पाइप फुट्न सक्छ । यसले खानेपानी प्रदुषण भई मानवीय स्वास्थ्यमा आघात पुग्न सक्छ’ खत्रीले भन्नुभयो ।