तिहारमा सोफा फोहोर हुनसक्छ, यसरी गरौं सफाइ

काठमाडौ : तपाईको घरमा लेदर सोफा छ ? तिहारको बेला नयाँ लेदर सोफा पो किन्दै हुनुहुन्छ कि ? अरु सोफाको तुलनामा लेदर सोफा केही महँगो पनि पर्ने भएकाले यसको सफाइ र रेखदेखमा विशेष ध्यान दिनुपर्छ । लेदर सोफा सफाइ गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।

लेदरको सोफामा लागेको धुलो भिजेको कपडाले कहिल्यै सफा गर्नुहुँदैन । त्यस्तै, क्लिनरको प्रयोग पनि गर्नु हुँदैन । कडा क्लिनरको प्रयोगले सोफा बिग्रन सक्छ । अमोनिया भएको क्लिनर त प्रयोग नगर्नु नै वेश हुन्छ ।

लेदरको सोफा सफाइ गर्दा केही सावधानी अपनाउनै पर्छ । लेदरको सोफा धेरै टिकाउ हुन्छ भनेर यसको जथाभावी प्रयोग पनि गर्नु हुँदैन ।

लेदर सोफाको सफाइ गर्दा हल्का क्लिनरको प्रयोग गर्नुपर्छ । यसलाई घरमै बनाउन पनि सकिन्छ अर्थात कम्पनीले बनाएको लेदर क्लिनर खरिद गरेर पनि प्रयोग गर्न सक्नुहुन्छ । सकेसम्म सोफाको नियमित सफाइ गर्नुपर्छ । सोफाको नियमित सफाइ नगर्दा धुलो जम्मा भएर बस्छ ।

लेदर सोफामा सबभन्दा पहिले नरम ब्रसले धुलो सफा गर्नुपर्छ । त्यसपछि सफाइका लागि पानी र भिनेगारको बराबर मिश्रण प्रयोग गर्नुपर्छ । सफाइ गरेपछि सफा कपडाले पुछेर सोफालाई सुकाउनुपर्छ । सोफाको सरसफाइमा लामो समय विताइसकेका ललितपुर कुमारीपाटीका शान्त नापितका अनुसार सोफालाई कहिल्यै पनि तातो हावा फाल्ने ड्रयरको प्रयोग गरी सुकाउनु हुँदैन । यसले लेदरलाई हानी पु-याउन सक्छ ।

दोस्रो चरणमा सोफामा अर्सोको तेल र भिनेगारको मिश्रण लगाउनुपर्छ । यसमा भिनेगार दुई भाग र अर्सोको तेल एक भाग मिसाएर सोफामा लगाएपछि केही समय सुक्न दिनुपर्ने नापित बताउनुहुन्छ । अर्को दिन सफा कपडाले पुछेपछि सोफा टल्किन्छ ।

यदि सोफामा कडा दाग लागेको छ भने अल्कोहल तथा एरोसोलले हटाउन सकिन्छ । सोफामा दाग लागेको छ भने बेकिङ सोडा छर्कनुपर्छ । केही घण्टापछि यसलाई सफा गरेपछि लेदर सोफा पहिलेको जस्तै हुन्छ ।

नापित भन्नुहुन्छ ‘सोफामा कालो दाग लागेको छ भने यसलाई हटाउन टार्टर र कागतीलाई सोफामा लगाएर केही समयपछि नरम कपडाले सफा गर्नुपर्छ । तपाईंं सोफाको सफाइका लागि आवश्यकता अनुसार नेल पोलिश, टूथपेष्ट, बेबी वाइपर लगायतको प्रयोग पनि गर्न सक्नुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार