काठमाडौ : तिहारको मुख्य दिन कात्तिक ४ गते शनिबार पनि वाग्मती सफाइ महाअभियानको कार्यक्रम नरोकिने भएको छ ।
महाअभियानले भाइटीकाका दिन पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गर्ने अभियानकर्मी एवम् नेपाल विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ शनिबारदेखि नै २३२ हप्ता पार गर्दै छ ।
विसं २०७० जेठ ४ गते विज्ञापन संघ र नेपाल चलचित्र संघबीच सफाइका लागि सहयोग जुटाउने एवम् प्रचारप्रसार गर्ने उद्देश्यले भकुण्डो भीडन्तको नारासहित मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा एस ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन धरेलले सफाइ महाअभियानकै लागि रु चार लाख सहयोग गर्नुभएको उहाँले जानकारी दिनुभयो । अन्य प्रायोजकबाट समेत गरी जम्मा रु १० लाखले शुरु गरिएको सफाइ महाअभियानले अहिले देशव्यापी सफाइ अभियानको रुप ग्रहण गरेको छ ।
सफाइका लागि हाल कसैसँग पैसा उठाइँदैन । आवश्यक पर्ने सामग्री सहयोगी संस्थाले दिँदै आएका छन् । सफाइमा स्वयंसेवी भावनाका मानिस सहभागी हुने गरेका छन् ।
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशका ३५ भन्दा बढी स्थानमा नदी एवम् शहर सफाइ भइरहेको छ । निजी क्षेत्रका अभियानकर्मीले शुरु गरेको अभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले लिनुभएपछि सफाइ अभियानमा जनसहभागिता जुटेको थियो । रासस


696 पटक हेरिएको 

