तेह्रथुम : गत माघमा तेह्रथुमको सिम्ले–७ का ११ परिवार एकै साथ बसाइँ सरे । खानेपानी अभावमा दुःख झेल्नु परेपछि सुविधा खोज्दै मोरङतिर बसाइँ सरेको सिम्लेका भीमबहादुर थापाले बताउनुभयो ।
पहिले गाविसकै ठूलो बस्ती रहेको सिम्ले गाउँमा अहिले बसाइँ सरेर जान बाँकी १०/१५ घरको मात्र बसोबास छ । ओख्रे–५ का २५ परिवारले पनि यही वर्ष थातथलो छाडेर हिँडेका छन् ।
खानेपानी अभावमा हातमुख जोर्नै समस्या भएपछि गाउँ छाडेर हिडेका सिम्लेका भीमबहादुर थापाले बताउनुभयो । ‘खानेपानी अभाव हुँदा न राम्रोसँग खेतीपाती लगाउनु पाइयो, न गाइवस्तु पालेर आयआर्जन गर्न पायो, त्यही पानी बोक्नै मात्र समय छुटाउनु परेपछि यही सुखका दिन नआउने रहेछ भनेर सबै जना बसाइँ गए अब हामीलाई पनि यो गाउँमा बस्नै मन छैन’ थापाले भन्नुभयो ।
खानेपानीकै अभावमा पछिल्ला तीन वर्षमा मात्रै सम्दुका ५४ परिवार पनि बसाइँ सरेर पूर्वी तराई र काठमाडौ गएका छन् ।
उता इसिवुबाट पनि पछिल्ला चार वर्षमा १ सय ५४ परिवारले गाउँ छाडेका छन् । तेह्रथुमको पञ्चकन्या, फाक्चामारा, इवा, चुहानडाँडा, थोक्लुङ लगायत गाउँबाट पनि बर्षेनी गाउँ छाडेर हिड्नेको ताँती नै लाग्ने गरेको छ ।
खानेपानी अभाव बाहेक तराईमा रोजगारी, औषधि उपचार, शिक्षा, खानपान तथा अन्य सेवा सुविधा पनि पाइने भएकाले बसाइँ गएको पूर्व जिविस उपसभापति तेजमान कन्दङ्वाले बताउनुभयो ।


949 पटक हेरिएको 

