सोलुखुम्बु : सामुदायिक रेडियो सोलु एफ एमले देउसी भैलो खेलेर संकलन गरेको रकम फोहोर व्यवस्थापनमा खर्च गर्ने भएको छ । । देउसी भैलोबाट संकलित एक लाख ६८ हजार रुपैयाँबाट सल्लेरी बजारको विभिन्न सार्वजनिक स्थलमा फोहोर फाल्ने टोकरी राखिने भएको हो ।
सोलु दुधकुण्ड नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती देखिएकाले फोहोर व्यवस्थापनको क्षेत्रमा सानो प्रयासको थालनी गर्न सार्वजनिक स्थालमा फोहोर संकलनका लागि टोकरी राख्ने निर्णय भएको सोलु एफ.एम. सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
‘नगरपालिकाको फोहोर व्यवस्थापनका लागि यो ठूलो प्रयास त होइन, तर सानै प्रयासबाट फोहोर व्यवस्थापनमा केही मद्दत पुग्नेछ भन्ने हामीलाई लागेको छ, फोहोर संकलनक लागि स्थानीय स्रोत साधनलाई प्रयोग गर्ने उद्देश्यले बाँसबाट बनेको टोकरी राख्ने निर्णय गरिएको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
बजार क्षेत्रमा फोहोर फाल्ने व्यवस्थित ठाउँ नहुँदा बाटो हिड्ने बटुवा तथा उपभोक्ताले जथाभावी फोहोर फाल्ने गरेका छन् । फोहोर संकलनका लागि पर्याप्त टोकरी राख्न नसक्दा प्लास्टिकजन्य फोहोरको मात्रा बढेको छ ।
टोलसुधार समितिले सरसफाइ गरे पनि सर्वसाधारणको चहलपहल रहने क्षेत्रमा फोहोर राख्ने टोकरी नहुँदा समस्या भएको हो । दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सोलु एफ.एम. १०१.२ मेगाहर्ज पूर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो हो । सोलु एफ.एम.ले २०६१ साउनदेखि जनजीविकाको सवालसँग सम्बन्धित विभिन्न रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको छ ।