डोल्पामा सालनाल विसर्जन गृह सञ्चालन भएपछि दुर्गन्ध हट्यो

डोल्पा : जिल्ला अस्पताल डोल्पामा सुविधा सम्पन्न प्लासिन्टा पिट (सालनाल बिसर्जन गृह) सञ्चालन भएपछि सालनाल व्यवस्थापन गर्न सजिलो भएको छ । व्यवस्थित सालनाल बिसर्जन गृह नहुँदा सामान्य खाडलमा सालनाल पुर्नुपर्ने र स्याल लगायत जंगली जनावरले निकालेर जथाभावी छर्दा दुर्गन्ध फैलिने गर्थ्यो ।

तर अहिले सालनाल कहाँ विसर्जन गर्ने भन्ने समस्या पनि नभएको र सालनालकै कारण हुने दुर्गन्ध पनि हटेको चिकित्सकहरु बताउँछन् ।

जथाभावी सालनाल गाड्दा हुने वातावरणीय समस्या न्युनीकरणका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोल्पाको २ लाख ८० हजार र अस्पताल बिकास समितिको १ लाख गरी ३ लाख ८० हजारमा प्लासिन्टा पिट निर्माण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोल्पाका संयोजक टेकम वलीले जानकारी दिनुभयो ।

‘जिल्ला अस्पतालमा सरदर दुई दिनको १ जना सुत्केरी हुन आउँछन्, खाडल खनेर गाडेपछि जंगली जनावरले निकालेर छरपष्ट पाथ्र्यो, तर पनि सालनालको ब्यवस्थापनमा कसैको ध्यान सम्म पुग्न सकेको थिएन तर व्यवस्थित सालनाल बिसर्जन स्थल बनाएपछि दुर्गन्ध हटेको छ ’संयोजक वलीले भन्नुभयो ।

नेपाल रेडक्रस जिल्ला शाखा र जिल्ला अस्पताल बिकास समितिको संयुक्त लगानीमा निर्मित सालनाल बिसर्जन गृह नयाँ बर्षको शुरुवात सँगै गत वैशाख देखि सञ्चालनमा आएको हो । अहिलेसम्म डेढ सय भन्दा बढी सालनाल विसर्जन गरिएको छ ।

अस्पतालमा सालनाल विसर्जन गृह संञ्चालनमा आएपछि सहज हुनुका साथै अस्पताल परिसरको वाताबरण समेत स्वच्छ भएको जिल्ला अस्पताल डोल्पाका प्रमुख श्रीकान्त अग्रवालले बताउनुभयो ।

फोटो : टेकम वली


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार