सल्यानका अधिकांश विद्यालयमा खानेपानी अभाव, पानी अभावमा शौचालय प्रयोगविहीन

🔗
2
Shares

सल्यान : सल्यानको त्रिभुवन जनता माध्यमिक विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै बनाएको शौचालय प्रयोगविहीन भएका छन् । गत बर्ष जिल्ला शिक्षा कार्यालयको अनुदानमा निर्मित शौचालय पानीको अभावमा प्रयोगविहीन भएको हो ।

त्रिभुवन जनता माध्यमिक विद्यालयको शौचालय जस्तै लक्ष्मीपुर प्राथमिक विद्यालयको शौचालय पनि दुई वर्षदेखि प्रयोगविहीन छ । सल्यानको अन्धविनासिनी निम्न मावि निगालचुला, कृष्ण मावि लगायत अधिकांश विद्यालयमा बनेका शौचालय पनि प्रयोगविहीन भएका हुन् । शौचालय प्रयोगविहीन भएपछि बालबालिका भने खुला शौच गर्न बाध्य छन् ।

पिउने पानी समेत आफैले जोहो गर्नुपर्ने अवस्थाले भएका शौचालय पनि अलपत्र परेको अन्धविनासिनी निम्न माध्यमिक विद्यालय निगालचुलाका शिक्षक शंकर प्रधानले बताउनुभयो । कार्यालय सहयोगीले टाढाको कुवा र पँधेराबाट एक/दुई गाग्री पानी संकलन गरेर ल्याए पनि त्यो पिउनमै ठिक्क हुने उहाँले बताउनुभयो । ‘ओसारेको पानी बालबालिकालाई पिउन समेत पुग्दैन, त्यसैले शौचालयको बिजोग भएको हो’ शिक्षक प्रधानले भन्नुभयो ।

उहाँका अनुसार विद्यालयभित्र खानेपानी जडान गर्न बारम्बार माग गर्दै आए पनि कसैले ध्यान नदिएकाले शौचालय प्रयोगविहीन भएको हो ।

अधिकांश विद्यालयको शौचालय सरकारी अनुदानमै निर्माण भएपनि खानेपानीको प्रबन्ध नमिलाएका कारण शौचालय प्रयोगविहीन भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार