सरसफाइमा नमुना : रुखबाट झरेको पात पनि खेर नजाने विद्यालय

कपिलवस्तु : विद्यालय हाताभित्र रहेका रुखबाट झरेका पातबाट कम्पोष्ट मल बनाइन्छ । त्यही कम्पोष्ट मल हालेर विद्यालय क्षेत्रमा फलफूलका बोटविरुवा लगाइएका छन् । जुन विरुवाबाट विद्यार्थीलाई प्रोटिन र भिटामिन प्राप्त हुने फलफूलका विषयमा पढाइन्छ ।

यस्तो उदाहरणीय विद्यालयको नाम हो पञ्च निम्न माध्यमिक विद्यालय । कपिलवस्तु वाणगंगा २ बैजलपुरमा २०४५ सालमा स्थापना भएको यो विद्यालयले २०६३ सालमा राष्ट्रिय सफाइ पुरस्कार समेत पाइसकेको छ ।

पञ्च निम्न माध्यमिक विद्यालयले फोहोर व्यवस्थापनमा गरेको उदाहरणीय काम यत्तिमा मात्र सीमित छैन । विद्यालयको विद्यालय प्राङ्गण भित्र फोहोरलाई डोकोमा जम्मा गर्ने गरिएको छ । फोहोरलाई पनि जलाउने फोहोर, प्लाष्टिक फोहोर, कवाड फोहोर र कम्पोष्ट फोहोर गरी चार किसिमले वर्गिकरण गरिएको छ ।

किताबका पाना, कागजका टुक्रा लगायत फोहोर जलाउने गरिएको छ । प्लाष्टिकलाई जलाउन नपाइने र खाल्डोमा पुर्नुपर्ने नियम बनाई कार्यान्वयनमा ल्याएको छ । कवाड फोहोर कवाडीलाई बेच्ने गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक जगतराम रेग्मी भन्नुहुन्छ ‘विद्यालय सफा राख्न हामीले धेरै मेहनत गरेर एउटा पद्धति बसाएका छौं, काम पद्धतिले गर्छ । हामीले त्यसलाई अनुशरण गरिरहेका छौं ।’

विद्यालयको सफाइका लागि सफाइ क्लब

झण्डै ४ सय हाराहारी विद्यार्थी रहेको विद्यालयको सफाइका लागि सफाइ क्लव पनि बनाएको छ । विद्यालय क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र बनाइएको छ ।

आफूले प्रयोग गरेका सामग्रीबाट उत्पादन हुने फोहोर संकलनका लागि ठाउँ ठाउँमा डोकोको व्यवस्था गरिएको छ । ‘जहाँ जे हुन्छ त्यही प्रयोग गर्ने हो, आफ्नै गाउँघरमा बनेको डोकोको महत्व विद्यार्थीलाई बुझाउन र प्लाष्टिकमुक्त विद्यालय बनाउन डोको प्रयोग गरिएको हो’ प्रधानाध्यापक रेग्मीले भन्नुभयो ।

कवाडजन्य फोहोर विक्रीबाट आउने पैसा बाल क्लबले संकलन गरेर सरसफाइ कोष बनाएको छ । यस बाहेक सफाइ नमूना विद्यालयमा घुम्न आउने पर्यटकले दिने दान पनि सरसफाइको कोषमै जम्मा गरिदै आएको छ । सरसफाइ कोषमा जम्मा भएको रकमको ब्याजबाट सफाइ क्लवले सरससफाइको सामान खरिद गर्ने गरेका छन् ।

विद्यालयमा छात्रा स्नान घरको पनि व्यवस्था

विद्यालयमा अपाङ्मैत्री शौचालय, छात्रा र छात्रमैत्री शौचालयको निर्माण गरिएको छ । महिनावारी हुँदा सेनेटरी प्याड फेर्न मिल्ने र नुहाउनका लागि समेत छात्रा स्नान घरको व्यवस्था गरिएको छ ।

वाणगंगा नगरपालिका १, २, ३ वडा यस विद्यालयको सेवा क्षेत्र हो । सेवा क्षेत्रका सबै बालबालिका विद्यालयमा समेटिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार