
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक बर्ष २०७९/०८० मा सरकारको समग्र खर्चको तुलनामा १९ प्रतिशत बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक बर्षमा सरकारले ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा २ खर्ब ३४ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । यो रकम लक्ष्यको ६१.५७ प्रतिशत मात्रै हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले भने कुल विनियोजित बजेट १९ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ मध्ये १५ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ खर्च भएको जनाएको छ । यो प्रगति लक्ष्यको ८० प्रतिशत हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका उप-महानिर्देशक एवं प्रवक्ता ई.रामकुमार श्रेष्ठले आज एक विज्ञप्ती जारी गर्दै आर्थिक बर्ष २०७९/०८० मा खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
उप-महानिर्देशक श्रेष्ठका अनुसार विभागबाट सञ्चालित १५ वटा बजेट उपशीर्षक मध्ये ४ वटा बजेट उपशीर्षकहरुले ९० प्रतिशत भन्दा बढी प्रगति हासिल गरेका छन् ।
१. जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाले ९३.७८ प्रतिशत
२. केन्द्रिय खानेपानी आयोजनाको प्रगति ९३.४४ प्रतिशत
३. कोभिड १९ रेस्पोन्स आयोजना ९३.०१ प्रतिशत
४. एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना ९२.५ प्रतिशत
यस्तै तीन वटा बजेट उपशीर्षहरुमा ८० प्रतिशत भन्दा बढी प्रगति भएको जनाईको छ । ८० प्रतिशत भन्दा बढी प्रगति हासिल गर्ने ३ वटा उपशीर्षकहरु निम्न छन् ।
१. ढल निर्माण तथा प्रशोधन कार्यक्रम ८७.०८ प्रतिशत
२. खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम ८२.४१ प्रतिशत
३.संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु ८२.११ प्रतिशत
खानेपानी विभाग मातहतका खानेपानी योजनाहरु देशभरका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु मार्फत कार्यान्वयन हुँदै आएका छन् । विभाग मातहत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, सहलगानी खानेपानी तथा सरसफाइ आयोजना, जलवायु अनुकुलित वृहत खानेपानी आयोजना, केन्द्रीय खानेपानी आयोजना, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ढल निर्माण तथा प्रशोधन कार्यक्रम लगायत विभिन्न आयोजना/कार्यक्रमहरु सञ्चालित छन् ।


785 पटक हेरिएको 

