उच्च तथा मध्यम स्तरको खानेपानीमा थप २ लाख २९ हजार जनसंख्याको पहुँच

आधारभूत खानेपानीबाट २ लाख ३९ हजार ७७१ लाभान्वित

  वास खबर सम्वाददाता  827 पटक हेरिएको
🔗
48
Shares


काठमाडौ : उच्च तथा मध्यम स्तरको खानेपानीमा थप २ लाख २९ हजार ६३५ जनसंख्याको पहुँच पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत सञ्चालित आयोजनाहरु मार्फत १७ वटा खानेपानी आयोजनाहरु सम्पन्न भई २ लाख २९ हजार ६३५ जनसंख्या उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित भएका हुन् ।

सरकारी तथ्याङ्क अनुसार हालसम्म २४.८४ प्रतिशत जनसंख्या मात्र उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँचमा पुगेका छन् ।

दिगो विकास लक्ष्य ६.१ मा सन् २०३० सम्ममा सुरक्षित तथा व्यवस्थित खानेपानी सेवा प्रयोग गर्ने जनसंख्या ९० प्रतिशत पुर्‍याउनुपर्ने उल्लेख छ । जसको लागि सन् २०१९ मै ३५ प्रतिशत र सन् २०२२ को अन्त्यसम्ममा ५० प्रतिशत लक्ष्य हासिल गरिसक्नु पर्नेमा नेपाल बल्ल २५ को हाराहारीमा पुगेको छ । सन् २०२५ सम्ममा भने यस्तो खानेपानी प्राप्त गर्ने जनसंख्या ६५ प्रतिशत पुर्‍याउनुपर्ने उल्लेख छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको तर्फबाट विभागका उप-महानिर्देशक एवं प्रवक्ता ई.रामकुमार श्रेष्ठले जारी गर्नुभएको प्रगति विवरण अनुसार आर्थिक बर्ष २०७९/०८० मा आधारभूत स्तरको खानेपानीबाट २ लाख ३९ हजार ७७१ जनसंख्या लाभान्वित भएका छन् । खानेपानी सेवा विस्तार तथा सेवा सुदृढीकरण तर्फका सहित १ सय ५४ खानेपानी योजना सम्पन्न भई थप २ लाख ३९ हजार ७७१ जनसंख्या आधारभूत स्तरको खानेपानीबाट लाभान्वित भएका हुन् ।

विभागले कुल विनियोजित बजेट १९ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ मध्ये १५ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ खर्च भएको जनाएको छ । यो प्रगति लक्ष्यको ८० प्रतिशत हो । यो खर्च सरकारको समग्र खर्चको तुलनामा १९ प्रतिशतले बढी हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक बर्षमा सरकारले ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा २ खर्ब ३४ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । यो रकम लक्ष्यको ६१.५७ प्रतिशत मात्रै हो ।

खानेपानी विभाग मातहतका खानेपानी योजनाहरु देशभरका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु मार्फत कार्यान्वयन हुँदै आएका छन् । विभाग मातहत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, सहलगानी खानेपानी तथा सरसफाइ आयोजना, जलवायु अनुकुलित वृहत खानेपानी आयोजना, केन्द्रीय खानेपानी आयोजना, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ढल निर्माण तथा प्रशोधन कार्यक्रम लगायत विभिन्न आयोजना/कार्यक्रमहरु सञ्चालित छन् ।

विभागले विज्ञप्ती मार्फत पूँजीगत खर्च गर्नका लागि अहोरात्र खटिने आयोजना प्रमुख लगायत सम्पूर्ण कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता तथा बजेट व्यवस्थापनमा सहजीकरण गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत सम्बद्ध सबै निकायमा कृतज्ञता व्यक्त गरेको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार