महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका स्थित ऐतिहासिक मटिहानी पोखरीको सफाइ गरिएको छ । नगरप्रमुख हरि प्रसाद मण्डलको नेतृत्वमा म्यादी प्रहरी, नेपाल प्रहरी र युवाको सहभागितामा लक्ष्मी नारायण मठसँगै रहेको लक्ष्मी सागरको सरसफाई गरिएको हो ।
सफाइमा मटिहानी प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक गोपाल यादवको नेतृत्वमा चुनावी सुरक्षाका लागि खटिएका ११२ जना म्यादी प्रहरी र १० जना नेपाल प्रहरी तथा स्थानीय बासिन्दा गरी करिब २ सय जनाको सहभागिता थियो ।
मटिहानी स्थित लक्ष्मीसागरमा जलकुम्भी तथा अन्य फोहोरले पोखरीको सुन्दरता मेटिन थालेपछि प्रहरी तथा म्यादी प्रहरी समेतको सहयोगमा सरसफाइ गरिएको हो । ऐतिहासिक पोखरीको संरक्षण र संवद्र्धन तथा सौन्दर्यको रक्षाका लागि पनि पोखरीको सरसफाइ गरिएको नगर प्रमुख मण्डलले बताउनुभयो । उहाँले नगरभित्र रहेका अरु पोखरीको समेत सफाइ तथा संरक्षण गर्नुपर्ने र खुलादिसामुक्त अभियानलाई पनि तीब्रता दिनुपर्ने बताउनुभयो ।
सेभ जलेश्वर ३१ औ हप्तामा
जलेश्वरमा चलिरहेको सेभ जलेश्वर अभियानले ३१ औ हप्ता पार गरेको छ । सेभ जलेश्वर अभियानले हरेक हप्ताको शनिवार विहान ६ देखि ८ बजेसम्म ऐतिहासिक तथा धार्मिक एवं सार्वजनिक स्थलको सरसफाइ गर्दै आएको छ ।
जलेश्वर स्थित महादेव मन्दिर,बरुणसर पोखरी, भार्गवसर पोखरी तथा ब्रम्हचारी कुटी एवं विद्यालय सरसफाइलाई समेत प्राथमिकतामा राखेको अभियानले ब्रम्हचारी कुटीमा अत्याधुनिक पार्क निर्माणको काम समेत थालेको छ ।
जिल्ला वन कार्यालय तथा जलेश्वर नगरपालिकाको सहयोगमा निर्माण थालिएको पार्क चाँडै सम्पन्न हुने क्रममा रहेको राकेश प्रसाद चौधरीले बताउनुभयो ।


928 पटक हेरिएको 

