दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नं. ८ बडागाउँकी ललिता आचार्यको पानी लिन जाँदाका दुःखहरु भनिसाध्य छैनन् । ती दुःखका दिनहरु सम्झिँदा अहिले पनि उहाँको आँखा रसाएर आउँछ रे । आचार्य भन्नुहुन्छ ‘पानी नल्याई नहुने भएपछि भूत, प्रेत, सर्प, बाघ केही नभनी डोकोमा गाग्री बोकेर राती नै कुवामा पुग्थ्यौं । साथी लिएर जाँदा पानी नपुग्ने भएकाले वल्लो घर पल्लो घर कसैलाई थाहा नदिई जान्थ्यौं ।’
दिउँसो जाँदा पानी नपाए पछि प्रायः सबै जना सुतेपछि राती कुवामा जानुपर्ने उहाँको बाध्यता रहेछ । भालेको डाकमा डोको बोकेर पँधेरा नगएसम्म पानी पिउन नपाईने गाउँमा अहिले धाराको टुटी खोल्न साथ आँगमै पानी झर्छ । छोरी, बुहारी र नाती नातिनाले आफूले जस्तो पानी बोक्नु नपरेकोमा उहाँ खुसीले गदगद हुनुहुन्छ ।
छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजनाले वस्ती भन्दा आधा किलोमिटर तलतिरको पानी घर आँगनमै उक्लिएपछि खानेपानीको दुःखहरण भएको हो । खानेपानी योजना नबन्दा सम्म पानीको मुहान धाउँदै आएका दैलेखको दुल्लु नगरपालिका ८ बडागाउँका ४६ घरको खानेपानीको दुःख सदाको लागि अन्त्य भएको छ ।
.
हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, स्थानीय साझेदार सोसेक नेपाल, दुल्लु नगरपालिका र छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त प्रयासबाट वडागाउँको घरघरै खानेपानी पुगेको हो । खानेपानीबाट ४ घर दलित सहित ४६ घरपरिवारका २६१ जनसंख्या लाभान्वित भएका छन् ।
यसका लागि बस्तीभन्दा ६८० मिटर तलतिर रहेको छहरेखोलाको पानीलाई दुईवटा इन्टेक निर्माण गरी २० घनमिटरको रिजर्भ्वायरमा संकलन गरिएको छ । उक्त पानीलाई सोलार पम्पको सहायताले बस्ती भन्दा माथि डाँडामा रहेको १४/१४ घनमिटरका दुई वटा फेरोसिमेन्ट ट्याङ्कीमा लिफ्टिङ गरिएको छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मधुप्रसाद उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार त्यहाँ संकलित पानी १ हजार ३५५ मिटर वितरण पाइपलाइनबाट निजी पाइपलाइन हुँदै उपभोक्ताको धारा धारासम्म पुग्छ । निजी पाइपको लम्बाई २ हजार ३४१ मिटर छ ।
घर आँगनमै पानी झार्नका लागि निजी धारा जडान सहित उपभोक्ताले ६ लाख ९७ हजार ७२९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । खानेपानी योजना निर्माणका लागि दुल्लु नगरपालिकाले १० लाख ९ हजार ८२ रुपैयाँ अनुदान र हेल्भेटास नेपाल, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले वस्तुगत तथा नगद गरी २९ लाख ४ हजार १३ रुपैयाँ अनुदान गरी जम्मा ४६ लाख १० हजार ८ सय २४ रुपैयाँ लगानी भएको अध्यक्ष उपाध्यायले जानकारी गराउनुभयो ।
पानी पर्याप्त भएपछि बडागाउँका बासिन्दाले वस्तुभाउ पाल्न र करेसाबारीमा हरिया सागपात फलाउन थालेका छन् । ‘अहिले आराम छ, पानीको सुबिस्ता छ, उबेला पानी ओसार्नुपर्थ्यो अहिले त पिईदिए पुग्छ, अर्थोक केही गर्नुपर्दैन’ खुसी हुँदै आचार्यले पहिले र अहिलेको अवस्था सुनाउनुभयो ।
पानीले ल्याएको परिवर्तन यत्तिमा मात्र सीमित छैन । पानीले गर्दा केटाकेटीलाई समयमै स्कुल पठाउन पाएकोमा वडागाउँकी कमला पौडेल दंग हुनुहुन्छ । घर आँगनमै पानी आएपछि व्यक्तिगत सरसफाइ बढेको, आफ्नै बारीमा तरकारी फलाउन पाएको उहाँले सुनाउनुभयो । ‘पहिले महिना दिनमा नुहाईन्थ्यो, अहिले दिनहुँ नुहाउन पनि मिल्छ ।’
बडागाउँमा केही बर्ष पहिले हेल्भेटास नेपालकै आर्थिक सहयोगमा बनेका सिमेन्टका घैंटाहरु पनि छन् । ती घैंटामा बर्षातको पानी संकलन गरी कपडा धुने, नुहाउने, भाँडा माझ्ने, गाईवस्तुलाई खुवाउने र सिँचाई गर्ने काममा प्रयोग भईरहेको उहाँले बताउनुभयो ।
छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य हिमकुमारी शर्मा आचार्य घरमै खानेपानी उपलब्ध भएपछि पानी ओसार्न लाग्ने समय अन्य काममा उपयोग गर्न पाएको बताउनुहुन्छ । ‘महिलाले बैठक, तालिम, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काममा पनि सहभागी हुन पाएका छौं, यो सबै खानेपानीकै देन हो’ उहाँले भन्नुभयो ।