धनगढी : कैलालीको धनगढीमा कुहिने फोहोरबाट खाना पकाउन सकिने ग्यास उत्पादन गरिँदै छ । धनगढी उपमहानगरपालिका–२ मा बायो प्लान्ट स्थापना गरी फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गर्न थालिएको हो ।
यसलाई बायो मिथेन ग्यास भन्ने गरिन्छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको लगानीमा प्लान्ट निर्माण गरिएको छ । यसलाई २० वर्षसम्म सञ्चालनको अधिकार भने देव तालिम केन्द्रले पाएको छ ।
अहिले परीक्षणका रूपमा दैनिक ३०/४० सिलिन्डर ग्यास उत्पादन भइरहेको तालिम केन्द्रका प्रबन्ध निर्देशक रविनकान्त पन्तले बताउनुभयो । “प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आएमा दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन हुने बताइएको छ ।
पाइप लाइन मार्फत देव तालिम केन्द्रसम्म ग्यास पुर्याएको छ । सिएनजी ग्यासबाटै खाना पकाउने कार्य हुँदै आएको छ । यसको परीक्षण सफल भएकाले अब जनताको घर घरसम्म ग्यास पुर्याइन प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अनुमति माग गरिएको छ ।
जनताको घरमा खाना पकाउने एलपी ग्यासभन्दा सस्तो पर्ने सिएनजी ग्यास घरमै पुर्याउने पन्तले बताउनुभयो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर दुई हजार छ । सिएनजी ग्यास प्रतिसिलिन्डर एक हजार तीन सय पर्ने जनाइएको छ ।
ग्यास उत्पादन गरेको फोहोरबाट कम्पोस्ट मल पनि उत्पादन भइरहेको छ । हाल दैनिक एक/दुई क्विन्टलमात्रै मल उत्पादन भइरहेको छ । शतप्रतिशत फोहोर राखेमा दैनिक तीन हजार ५०० केजी मल उत्पादन हुने देखिन्छ ।
दुई लाख जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकामा दैनिक ५८ टन फोहोर उत्पादन हुने गरेको छ । जसमध्ये ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने छ । कुहिने फोहोर बायो ग्यास र मल बनाउन प्रयोग भइरहेको छ । त्यसका लागि २१ करोड रुपियाँ लगानीमा प्लान्ट बनाइएको हो । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।
यसमा १३ करोड रुपियाँ देव तालिम केन्द्र र आठ करोड रुपियाँ नेपाल सरकारको रहेको धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक पाठकले जानकारी दिनुभयो ।