डम्पिङ साइटमा कारागार बन्ने भएपछि फोहोर व्यवस्थापनमा चुनौती

 

नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरको फोहोर विसर्जन गर्दै आएको ठाउँमा केन्द्रीय कारागार भवन बनाउने भएपछि फोहोर व्यवस्थापनको लागि समस्या भएको छ ।

अहिलेको डम्पिङ साइटमा कारागार भवन बनाउनुपर्ने भएकाले वैकल्पिक व्यवस्था गर्न कारागार व्यवस्थापन विभागको पत्र प्राप्त भएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभयो । यद्यपि नगरपालिकाले अहिले पनि त्यही स्थानमा फोहोर विसर्जन गर्दै आएको छ ।

देशभर रहेका कारागारले मात्र कैदीबन्दीको चाप थेग्न नसकेपछि सरकारले २०७३ जेठमा नुवाकोटमा ७ हजार कैदीबन्दी बस्न मिल्ने केन्द्रीय कारागार र बाँकेमा ३ हजार क्षमताको क्षेत्रिय कारागार बनाउने निर्णय गरेको थियो ।

जग्गा खोज्न वडा अध्यक्षको संयोजकत्वमा उपसमिति

विदुर नगरपालिकाले फोहोर व्यवस्थापनको समस्यालाई तत्काल समाधान गर्नका लागि डम्पिङ साईटका लागि जग्गा खोजी भइरहेको जनाएको छ । जग्गा प्राप्तिकै लागि विदुरनगरपालिका वडा ५ का वडाध्यक्ष शिव चित्रकारको संयोजकत्वमा एक उपसमिति गठन गरिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभयो ।

 

‘कारागारको पत्र पाउने दिन देखि नै हामी जग्गा खोज्न लागि परेका छौं, तर फोहोर व्यवस्थापनका लागि भनेपछि आसपास मानिसको बस्ती नभएको क्षेत्र खोज्नुपर्ने र स्थानीयबासिन्दाको विरोध हुने सम्भावना पनि त्यत्तिकै हुँदोरहेछ, यो सबै कुरालाई मिलाएर कसरी चाँडो भन्दा चाँडो जग्गा प्राप्त हुन्छ भन्नेमा हामी केन्द्रित भएका छौं’ नगर प्रमुख पण्डितले बताउनुभयो ।

फोहोर व्यवस्थापनका लागि जिआइजेटसँग सहकार्य गरिने

फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्त हुनासाथ अहिलेजसो सबै फोहोर डम्पिङ साइटमा लगेर विसर्जन नगरिने नगरप्रमुख पण्डितले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि जर्मन सहयोग नियोग (जिआईजेट) सँग कुरा भइरहेको र निकट भविश्यमै सम्झौता भई काम अगाडि बढ्ने विश्वास रहेको उहाँले बताउनुभयो ।

‘जिआईजेट प्राविधिक सहयोग गर्न तत्पर छ तर स्रोत साधन नगरपालिकाकै हुनुपर्ने भनेको छ, प्राविधिक पक्षमा जिआइजेटले सहयोग गर्ने भएपछि फाल्ने पर्ने फोहोरको मात्रा पनि कम हुने विश्वास लिएको छु’ उहाँले भन्नुभयो ।

१३ वटा वडा रहेको विदुर नगरपालिकाको शहरी क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिए पनि ग्रामीण भेगमा भने फोहोरमैला व्यवस्थापनको त्यत्ति धेरै समस्या नरहेको नगरप्रमुख पण्डितले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार