अर्घाखाँची : अर्घाखाँचीलाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ जिल्ला बनाउन अर्घाखाँचीका पत्रकारहरु प्रतिबद्ध भएका छन् । खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सवाललाई सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने कामलाई आफ्नो कर्तव्य ठानी प्राथमिकता दिन जिल्लामा कार्यरत पत्रकारले प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै वास पत्रकार मञ्चका अध्यक्ष प्रेमनारायण आचार्यले पूर्ण सरसफाइ अभियान जिल्लाको प्रतिष्ठा र इज्जतसँग जोडिएको विषय भएकाले सबै पत्रकारले आफू कार्यरत सञ्चार माध्यममा खानेपानी, सरसफाइ र स्वच्छताका विषयलाई पहिलो प्राथमिकता दिएर प्रकाशन प्रसारण गर्न आग्रह गर्नुभयो ।
यस्तो छ पत्रकारहरुले जनाएको प्रतिबद्धता पत्र
अर्घाखाँची जिल्लाको प्रतिष्ठा र समृद्धि, पूर्ण सरसफाइयुक्त हाम्रो जीवन पद्धति
अर्घाखाँची जिल्लालाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ नमुना जिल्ला बनाउने लक्ष्यलाई हृदयंगम गरी हामी विभिन्न मिडियासँग आबद्ध पत्रकारहरु, WAJOF तथा नेपाल पत्रकार महासंघ अर्घाखाँची मन वचन र कर्मले खानेपानी, सरसफाइ र स्वच्छताका जानकारी एवं सवालहरुलाई सन्चार माध्यमबाट प्राथमिकताका साथ प्रसारण तथा प्रकाशन गर्नुलाई हाम्रो कर्तव्यको रुपमा अंगिकार गर्दै पूर्ण सरसफाइ प्रति सामूहिक प्रतिबद्धता जाहेर गर्दछौं ।’
Global Sanitation Fund, UN Habit को सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको पूर्ण सरसफाइ सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका २० जना भन्दा बढी पत्रकारले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
अर्घाखाँची नेपालको १७ औ खुला दिसामुक्त जिल्ला हो । अहिले अर्घाखाँचीमा सुआहारा, पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजना, फण्डबोर्ड लगायतका संघ संस्थाले पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् ।


1045 पटक हेरिएको 

