शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन परियोजना शुभारम्भ

खानेपानीको स्रोतहरुले पुनःजीवन प्राप्त गर्ने नगर प्रमुखको विश्वास

  वास खबर सम्वाददाता  541 पटक हेरिएको

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा ‘‘शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना शुभारम्भ भएको छ । नगर प्रमुख तथा उपप्रमुख, नगर कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, पत्रकार, सरोकारवाला र सहयोगी संस्थाको प्रतिनिधिको उपस्थितिमा परियोजना शुभारम्भ भएको घोषणा गरिएको हो ।

Bremen Overseas Research and Development Association (BORDA) SOUTH ASIA को आर्थिक सहयोग र नगरपालिकासँगको समन्वयमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सुरुवात गरेको यो परियोजना सन् २०२६ सम्म सञ्चालन हुनेछ ।

विगतमा किर्तिपुर र गोदावरी नगरपालिकामा सञ्चालन भएको यो परियोजना अब चाँगुनारायण नगरपालिकामा समेत सञ्चालन हुनेछ ।


परियोजना शुभारम्भ कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले परियोजनाबाट नगर क्षेत्रभित्रका खानेपानी संरचनाहरु, परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरुले पुनःजीवन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यो परियोजना नगरपालिकामा लागु गर्न ढिलो भएको छ, यस परियोजना सफल बनाउन नगर प्रमुखको हैसियतले म पूर्ण प्रतिबद्ध छु’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले परियोजनाको कार्यान्वयनमा प्रसाशनिक रुपमा आफू प्रतिबद्ध भएर सहयोग गर्ने बताउनुभयो । आफूले विगतमा काम गरेको नगरपालिकामा भन्दा यस नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा नीति तथा कार्यक्रम र बजेट समेत विनियोजन गरेर नगर देखि वडा तहसम्मको वासको संरचनाले काम गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले परियोजनाको बारेमा प्रकाश पार्दै चाँगुनारायण नगरपालिकामा काम गर्नको लागि अनुकूल वातावरण र सहयोगको कारणले नै नयाँ नयाँ काम गर्न हौसला मिलेको बताउनुभयो । ‘यो नगरपालिकामा आउँदा मलाई आफ्नै माईती घर आए जस्तो अनुभूति हुन्छ’ उहाँले भन्नुभयो ।


कार्यक्रममा एन्फोका ईन्जिनियर सन्तोष दाहालले परियोजनाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै प्रस्तुतीकरणमा उठेका जिज्ञासा माथि एन्फोका सिनियर प्रोग्राम म्यानेजर प्रसन्न प्रधानले जवाफ दिनुभएको थियो ।


परियोजना सञ्चालन र कार्यान्वयनको लागि नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाले आवश्यक समन्वय र सहजिकरणको लागि काम गर्ने नगरपालिकाका वास संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्र भित्र रहेको परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरु, सार्वजनिक शौचालयहरु लगायत संरचनाहरुको संरक्षण गर्न र पुनःनिर्माण गर्न डिपिआर, योजना, डिजाइन तथा परामर्श सेवा प्रदान गरी प्राविधिक सहयोग प्रदान गर्ने परियोजनाको उद्देश्य छ ।


यस परियोजनाले अन्य पालिकाहरुमा परिक्षण सफल भएको योजना र नयाँ प्रबिधिलाई चाँगुनारायण नगरपालिकामा पनि अनुशरण गर्ने जनाएको छ । खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण, जलवायु र लैङ्गिक स्मार्ट शहर बनाउन मूल्याङ्कन ढाँचा विकास गरी लागु गर्ने, नगरपालिका क्षेत्र भित्र हाँसिल गरेका अनुभव र उपलब्धीमूलक दस्तावेजहरुलाई अन्य पालिका तथा शहरहरुको लागि सामग्रीको रुपमा सहयोग गर्ने लगायतको कार्यहरु परियोजना अन्र्तगत गरिनेछ ।

दिगो बिकास लक्ष्य ६ अन्तर्गत खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न परियोजनाको भूमिका महत्वपूर्ण हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाका संयोजक सुरेन्द्र लामिछानेले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकामा सुरक्षित पानी र उत्थानशिल नगरपालिका (Building a Water Safe Resilient Municipality) बनाउने कार्यमा समेत यस परियोजनाले सहयोगी भूमिका निर्वाह गर्नेछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार