भक्तपुर : भक्तपुरको पिखेल (पकुनेपाटी) खानेपानी तथा सरसफाइ आयोजनाको डिप बोरिङ्ग शिलान्यास गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फण्ड बोर्ड) को आर्थिक तथा युवा क्रियाकलाप समाज (सोया) भक्तपुरको प्राबिधिक सहयोगमा पिखेलमा निर्माण हुने खानेपानी आयोजनाको आज शिलान्यास गरिएको हो ।
खानेपानी तथा सरसफाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष जयन्द्र खड्काले खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि चाँगुनारायण नगरपालिकाको वडा नं. ५ का बासिन्दालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने प्रतिबद्धता गर्नु भयो ।
जग्गादातालाई धन्यबाद
डिप बोरिङ्गका लागि श्याम बहादुर गिरी र टयाङ्की निर्माणका लागि असल बहादुर कासिछवाले जग्गा दान गरेपछि पिखेलमा खानेपानी आयोजना निर्माण हुने भएको हो । सोयाका कार्यकारी निर्देशक पहलमान श्रेष्ठले पानी दान महादान भएकाले खानेपानी आयोजनाका लागि जग्गा दान गर्नुहुने श्यामबहादुर गिरी र असल बहादुर कासिछवालाई धन्यबाद व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि सोयाका अध्यक्ष राध्ये श्याम दुवाल, संस्थापक अध्यक्ष गणेश भक्त शिल्पकार लगायत १ सय ५० भन्दा बढीको उपस्थिति थियो । प्रमुख अतिथि दुवालले उपभोक्ताको उत्साहजनक सहभागिता र निरन्तर समन्वयको लागि धन्यवाद दिदै आयोजना सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


847 पटक हेरिएको 

