
ढाका : बंगलादेशको ढाकामा भएको छैटौं सरसफाइ सम्मेलनले सरसफाइ पेशाको मर्यादा र सरसफाइकर्मीको सम्मानजनक जीवन यापनमा जोड दिईएको छ । पाँचौं सम्मेलनसम्म बंगलादेशमा मात्र सीमित रहेको (एफ.एस.एम. कन्भेन्सन) सम्मेलनलाई यस पटक देखि क्षेत्रीय बनाउँदै नेपाल र भारतलाई समेत सहभागी गराएको हो।
बंगलादेश एफ.एस.एम. नेटवर्कले आयोजना गरेको सम्मेलनमा सरसफाइको कामलाई मर्यादित बनाई उनीहरुको जीविकोपार्जनमा परिवर्तन ल्याउन र यसको मूल प्रवाहीकरण गर्नका लागि सरकारको तर्फबाट भैरहेका प्रयासहरुका बारेमा तीनै वटा देशको तर्फबाट फरक फरक प्रस्तुतीकरण गरिएको थियो ।
सम्मेलनमा भारतले सरसफाइकर्मीहरुको पेशालाई मर्यादित बनाउन अवलम्बन गरिएको ‘गरिमा’ अवधारणा बारे प्रस्तुतीकरण गर्नुभयो। आयोजक बंगलादेश एफ.एस.एम. नेटवर्कका सदस्य सचिव उत्तम कुमार साहले बंगलादेशमा फोहोरमैला व्यवस्थापन र सरसफाइको क्षेत्रमा कार्यरत श्रमिकहरुको जीविकोपार्जनमा सुधार ल्याउनका लागि नीतिगत तहमा वकालत गर्दै आएको बताउनुभयो।

नेपालको तर्फबाट वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सिनियर रिसर्च अफिसर जगम श्रेष्ठले नेपालको सन्दर्भमा सरसफाइकर्मीहरुको अवस्था, सुरक्षात्मक उपायको अभावमा पेशागत सुरक्षा सम्बन्धी सिर्जना भएका खतरा र उनीहरुको मर्यादा र पेशागत स्वास्थ्य सुरक्षाका लागि भैरहेका प्रयासहरुबारे प्रस्तुतीकरण गर्नुभयो ।
मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिका र काठमाडौ उपत्यकामा गरिएको एक अध्ययनको प्रतिवेदन प्रस्तुतीकरण गर्दै उहाँले तराईका नगरपालिका भरिमा कम्तीमा २३६ वटा सेप्टिक ट्याङ्की खाली गर्ने साधन (ट्याङकर) सञ्चालनमा रहेको र ती मध्ये जनकपुरमा मात्र १८ वटा सञ्चालनमा रहेको जानकारी गराउनुभयो । उहाँले ती सबै कुनै पनि सरकारी निकायमा दर्ता नभई अनौपचारिक रुपमा सञ्चालनमा रहेको बताउनुभयो ।

एउटा ट्याङ्कर बराबर कम्तीमा तीन जना सरसफाइकर्मी संलग्न रहेको र उनीहरुसँग श्रमसँग सम्बन्धित ज्ञान सन्तोषजनक भए पनि पेशागत स्वास्थ्य र सुरक्षा सँग सम्बन्धित ज्ञानको अभाव रहेको देखिएको उहाँले बताउनुभयो । ‘पेशागत स्वास्थ्य र सुरक्षासँग सम्बन्धित ज्ञानको अभावमा उनीहरुको जीवन असुरक्षित रहेको छ, काम गर्ने शीलशीलामा सुरक्षात्मक उपायहरु कमैले मात्र प्रयोग गरेको पाईएको छ’ उहाँले भन्नुभयो ।
रिसर्चर अफिसर श्रेष्ठले काठमाडौ बाहिरको तुलनामा काठमाडौ उपत्यका भित्र कार्यरत सरसफाइकर्मीहरुले पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी केही तालिम प्राप्त गरेको र कार्यस्थलमा सुरक्षात्मक उपायहरु समेत केही हदसम्म अपनाएको भेटिएको बताउनुभयो।

‘काठमाडौं उपत्यकामा कार्यरत सरसफाइकर्मीले सबैभन्दा बढीले पञ्जा प्रयोग गर्ने गरिएको भेटिएको छ। काठमाडौका ९० प्रतिशत सरसफाइकर्मीले पञ्जा र मास्क लगाउने अध्ययनले देखाएको छ’ उहाँले भन्नुभयो।
सरसफाइकर्मीले भोगिरहेका समस्याहरु
एफ.एस.एम.सम्मेलनमा श्रेष्ठले गर्नुभएको प्रस्तुतीकरणमा नेपालका सरसफाइकर्मीहरुले निम्न समस्याहरु भोगिरहेको उल्लेख छ।
√ कम पारिश्रमिक र तलब
√ दुर्घटना हुने सम्भावना तथा दुर्घटना तथा जीवन बीमाको अभाव
√ आर्थिक असुरक्षा
√ पेशागत स्वास्थ्य र सुरक्षाबारे निम्न ज्ञान
√ स्वास्थ्यमा उच्च खतरा
√ सीमान्तकृत तथा पछाडि परेका वर्गको संलग्न, निम्न शैक्षिक योग्यत
√ सामाजिक विभेद
सरसफाइ पेशालाई मर्यादित बनाउन भैरहेका प्रयासहरु

नेपालमा सरसफाइको कार्यलाई मर्यादित बनाउनका लागि सरकारी तथा गैरसकारी स्तरबाटै निम्न प्रयासहरु भएको उहाँले प्रस्तुतीकरण गर्नुभयो ।
√ नगरव्यापी समावेशी सरसफाइका बिषयमा तालिम निर्देशिका निर्माण गरिएको
√ स्थानीय सरकारसँगको समन्वयमा सरसफाइकर्मीहरुका लागि तालिम आयोजना गरिएको, हालसम्म ११५ जना पुरुष र ७२ जना महिला सहित १८७ जना सरसफाइकर्मीलाई तालिम प्रदान गरिएको।
√ राष्ट्रिय सरसफाइ सम्मेलनमा सरसफाइकर्मीको कार्यको प्रसंशा गर्दै निजी व्यवसायीहरुले भोग्नुपरेको चुनौतीहरुको बारेमा प्रस्तुतीकरण गरिएको।
√ काठमाडौ खानेपानी व्यवस्थापन बोर्डले सेप्टिङ ट्याङ्क सफाइ सम्बन्धी इजाजतको व्यवस्था गर्न लागेको
√ सरसफाइकर्मीहरुको अवस्थाका बिषयमा परामर्श बैठक तथा वहसको सुरुवात भएको।
√ नयाँ प्रविधि प्रबद्र्धनका लागि अभिप्रेरित गरिएको।

अबको एजेण्डामा, सरसफाइकर्मी केन्द्रमा
बंगलादेश छैटौं एफएसएम सम्मेलनले सरसफाइकर्मीलाई केन्द्रमा राखेर सरसफाइ सम्बन्धी योजना तर्जुमान, निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
√ सरसफाइ योजना निर्माण गर्दा सरसफाइकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिने ।
√ दिगो सरसफाइका लागि ‘सहरव्यापी समावेशी सरसफाइ’ अवधारणालाई अवलम्बलन गर्न राष्ट्रिय र नगरपालिकाहरुलाई अभिप्रेरित गर्ने।
√ सरसफाइ क्षेत्रमा लगानी बढाउन वैकल्पिक उपायको खोजी गर्ने, खासगरी नगरव्यापी समावेशी सरसफाइ करलाई प्रबद्र्धन गर्नुपर्ने
√ सहरी सरसफाइ श्रृंखला र दिसाजन्य लेदो व्यवस्थापनमा निजी क्षेत्रको सहभागितालाई जोड दिनुपर्ने।




768 पटक हेरिएको 

