ढल व्यवस्थापनका कारण अस्तव्यस्त दमकको सडक हप्ता दिनभित्रै निर्माण सुरु हुने


दमक : ढल व्यवस्थापनका लागि भत्काईएको झापाको दमक नगरपालिका भित्रको सडक निर्माणको काम हप्ता दिनभित्रै सुरुवात गर्ने निर्णय भएको छ।

दमक नगरपालिकाको समन्वयमा खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठ, उप महानिर्देशक राम कुमार श्रेष्ठ, निर्माण व्यवसायी स्वामी नारायण निर्माण सेवाका प्रबन्ध निर्देशक सन्तोष बस्नेत र प्रोजेक्ट मेनेजर भोला चौधरी लगायतको उपस्थितिमा बसेको बैठकले हप्ता दिन भित्रै सडक निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो।

‘बैठकले दमकमा अस्तव्यस्त सडक निर्माणको काम हप्तादिन भित्रै थालनी गरी चाँडो भन्दा चाँडो सम्पन्न गर्ने निर्णय भएको छ’ दमक नगरपालिकाका मेयर राम थापाले भन्नुभयो।

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको तर्फबाट ढल व्यवस्थापनको काम गर्दा सडकमा समस्या सिर्जना भएको र यसको दीर्घकालीन समाधानका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त भएको मेयर थापाले बताउनुभयो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले दमक ढल निर्माणको ठेक्का स्वामी नारायण निर्माण सेवा विराटनगरलाई दिएको थियो। २०७७ असोज २६ गते सुरु भएको आयोजना २०७९ चैत २५ गतेसम्ममा सम्पन्न हुने गरी सम्झौता गरिएको भए पनि आयोजना अझै सम्पन्न भएको छैन।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार