सेनाले हिमालबाट पाँच शव सहित १० टन फोहर संकलन गर्ने

  वास खबर सम्वाददाता  363 पटक हेरिएको

काठमाडौ : नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट पाँच शव सहित १० टन फोहोर संकलन गर्ने भएको हो। नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोहीको शब सगरमाथाको दोस्रो शिविरमा ल्याईने र त्यहाँबाट हेलिकप्टरमा आधार शिविर ल्याइने जनाएको छ । आधार शिविरबाट लुक्ला लगेर शव पहिचान गरी सम्बन्धित परिवारको जिम्मा लगाइने र विदेशीको शव भए गृह मन्त्रालय मार्फत प्रक्रिया पुर्‍याएर सम्बन्धित देशमा पठाईने सेनाले जनाएको छ।

सफा हिमाल अभियान अन्तर्गत सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहोर संकलन गर्ने योजना छ।

सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने र उनीहरूमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्ने सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिनुभयो ।

फोहर संकलन सहजीकरणका लागि १८ शेर्पा सहयोगी परिचालन गरिने सेनाले जनाएको छ। सगरमाथाको आठ हजार मिटर उचाइसम्म पुगेर फोहर संकलन गरिने सफाइ अभियानका नेतृत्वकर्ता सेनानी अदित्य कार्कीले बताउनुभयो।

यही चैत २९ गतेदेखि सुरु हुने फोहर संकलन अभियान ५० दिनसम्म सञ्चालन हुनेछ। सो अभियान २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन समापन हुनेछ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा सङ्कलित कुहिने फोहर नाम्चेमै र नकुहिने फोहर काठमाडौँ ल्याएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ।

सन् २०२३ मा सफाइ हिमाल अभियान अन्तर्गत सेनाको टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमालको सफाइ गरेको थियो। ती हिमालबाट ३५ टन फोहर संकलन गरिएको थियो।

सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा नेपाली सेनाले विभिन्न हिमालबाट झण्डै ११ टन फोहर संकलन गरेको थियो।

कोभिड-१९ का कारण सन् २०२० को सफाइ अभियान भने रोकिएको थियो। सन् २०२१ मा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि र आमादब्लम हिमालबाट २७ दशमलव ६ टन फोहर संकलन गरिएको थियो त्यस्तै सन् २०२२ मा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट करिब ३५ टन फोहर संकलन गरेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार