चुनावको प्रचार सामग्री हटाउन महानगरको अनुरोध

काठमाडौ : काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले चुनवाका समयमा प्रचार प्रसारका लागि महानगर क्षेत्रभित्र टाँगेका तुल, ब्यानर, पोष्टर, पम्प्लेट हटाउन सम्बन्धित दल तथा स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ ।

निर्वाचन प्रचारप्रसारको बेला टाँसेका पर्चा, पम्पलेट, टाँगेका तुल ब्यानर वा भित्तामा लेखिएका सामग्रीले शहरको शोभा घटाउने भएकाले ती सामग्री हटाई क्लिन द सिटी अभियानलाई सहयोग पु-याउन महानगरले आग्रह गरेको हो ।

जथाभावी फोहोर नफाल्न महानगरको अपिल

काठमाडौ महानगरपालिकाले महानगरका बासिन्दालाई आफ्नो घर पसल उद्योग व्यवसायबाट उत्पादित फोहोर सडकपेटी, मठमन्दिर, नदीनाला, जस्ता सार्वजनिक क्षेत्रमा नफाल्न पनि महानगरले अपिल गरेको छ ।

आफूले उत्दपादन गरेको कुहिने फोहोरलाई मल बनाएर करेसाबारीमा प्रयोग गर्न र नकुहिने फोहोरलाई मात्र फोहोर लिन आउने सवारी साधनमा पठाउन महानगरले अपिल गरेको हो । जथाभावी फोहोर नफाल्न महानगरले सचेत गराउँदै आएको र अटेर गरेमा कानूनी बमोजिम कारवाही हुने काठमाडौ महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख, हरिवहादुर कुँवरले जानकारी दिनुभयो ।

जथाभावी फोहोर फाल्ने कार्यलाई रोकथाम गर्न काठमाडौ महानगरपालिकाले अनुगमनलाई कडाई गरेको र भेटिएको फोहोरमैला व्यवस्थापन ऐन अनुसार कार्वाही हुने कुँवरले जानकारी दिनुभयो ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० मा जथाभावी फोहोर फाल्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना, ३ महिना जेल सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार