फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या छ: संघीय मामिला मन्त्री जोशी

काठमाडौ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताउनु भएको छ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने भन्ने बारे सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, फोहोरको मूल थलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन।’

त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रियसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापनको विषय सबैको सरोकारको विषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने र ठोस कार्यान्वयन तर्फ अगाडि बढ्नु पर्नेमा जाेड दिनुभयो।

उहाँले वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो ‘सबैको सामूहिक प्रयास भए मात्र फोहोरमैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुन्छ’।

सो अवसरमा क्रियसन नेपालद्वारा दुई महत्त्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो।

फोहोरमैला व्यवस्थापनमा द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरूबाट लगानी विषयमा आयोजित पहिलो सत्रमा विश्व बैङ्क लगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकाश पारेका थिए।

छलफलमा सहभागी भएका विज्ञहरूले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औँल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामूहिक विचार व्यक्त गरेका थिए।

पहिलो सत्रमा विश्व बैंक, इसिमोड र एफएचआई ३६० का प्रतिनिधिहरूले छलफल सत्रमा भाग लिएका थिए।

त्यस्तै, दोस्रो सत्रमा सञ्चार जगतले फोहोरमैला व्यवस्थापनको विषयलाई कसरी उठान गरीरहेका छन् भन्ने विषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र लोकान्तर डट कमका प्रधान सम्पादक विमल गोत्तमले प्रकाश पार्नुभएको थियो।

नेपालका मुलधारको मिडियाले अपेक्षाकृत रुपमा फोहोरमैला तथा वातावरणको विषयमा कम समाचार सामग्री प्रकाशन भएको प्रधान सम्पादक द्वयले स्वीकार गर्नुभयो।

स्वमान, सिन र क्रियसन नेपालले संयुक्त रुप्मा आयोजना गरेको कार्यक्रमको उदघाटन सत्रको अध्यक्षता गरेका पूर्वमन्त्री गणेश साहले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

सो अवसरमा विभिन्न उत्पादनहरूको स्थलमा प्रदर्शनी समेत गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार