फोहोर व्यवस्थापनको काम वडा कार्यालयले नै गर्ने तयारी

 605 पटक हेरिएको

बाँके : नेपालगञ्ज उपमहानगरपालिकाका वडा कार्यालयहरुले आफ्नो परिधिभित्र उत्पादित फोहोर आफै व्यवस्थापन गर्ने भएका छन् । निजी संस्थासँग मिलेर फोहोर व्यवस्थापन गर्दा जनगुनासो बढेपछि वडा कार्यालयहरुले नै ट्याक्टर किनेर फोहोर व्यवस्थापन गर्ने तयारी गरेका हुन् ।

वडाभित्र उत्पादित फोहोरलाई वडा कार्यालयले नै व्यवस्थापन गर्ने अवधारणा वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालले अघि सार्नु भएको हो । अहिले यो अवधारणामा वडा नं. ३, १२ र १८ नम्बरका वडा कार्यालयले समेत सहमति जनाएका छन् ।

वडाकै योजना अनुसार फोहोर व्यवस्थापनका लागि ट्याक्टर किन्ने तयारी भइरहेको वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।

नगरपालिकाले फोहोर नउठाउँदा नगरका बासिन्दाले आफूहरुलाई गाली गर्ने र सम्बन्ध नै बिग्रिने अवस्था आएको उहाँले बताउनुभयो । ‘नगरपालिकाले दैनिक फोहोर उठाउँदैन, टोलका मानिसले हामीलाई गाली गर्छन्, वडाध्यक्ष रिजाल भन्नुहुन्छ ‘आफ्नै ट्याक्टर भयो भने त फोहोर पनि उठाउँछ, अरु बेला ग्राभेल ल्याउने – पु-याउने काम पनि गर्छ ।’

उपमहानगरपालिकाका सात वटा र निजी संस्थाका आधा दर्जन ट्याक्टरले दैनिक फोहोर उठाईरहेको छ । तर पनि घर, पसल, अस्पताल, होटलहरुबाट निस्केको फोहोर उही दिन व्यवस्थापन नहुँदा नगरक्षेत्र दुर्गन्धित हुन थालेको छ ।

नेपालगञ्ज नगरमा अहिले ३२ टनसम्म दैनिक फोहोर निस्किने गरे पनि उपमहानगरपालिका र निजी संस्थाले २५ टन जति फोहोर मात्र व्यवस्थापन गर्दै आएको छ ।

स्थानीय सरकार आएपछि पनि फोहोर उस्तै

नेपालगञ्जका बासिन्दाले स्थानीय सरकार गठन भएपछि त फोहोरको समस्या व्यहोर्नु नपर्ला ? फोहोर समयमै उठाउँला भन्ने आशा गरेका थिए । तर स्थानीय सरकार सञ्चालन भएको लामो समय भइसक्दा समेत फोहोर व्यवस्थापनको समस्या उस्तै छ ।

नगरपालिकाले टोल टोलमा डस्टबिन राखेपनि जथाभावी फोहोर फाल्ने स्थानीयबासिन्दाको बानी सुध्रिएको छैन । आफ्नो घर, पसलबाट निस्कने फोहोर सडकमा लगेर थुपार्नले नगरपालिकाको ट्याक्टर आउँदा सम्म पशु चौपायाले छरपष्ट पारिसक्छ ।

फोहोर व्यवस्थापनका लागि हिरमिनियामा बनाउन थालेको डम्पिङ साइटको काम पनि विवादले रोकिएको छ । अहिले नगरपालिकाले फूल्टेक्रा भन्ने स्थानमा फोहोर फाल्दै आएको छ भने निजी संस्थाले ढोडेगाउँमा विसर्जन गरिरहेको छ ।

नगरपालिकाले स्वीपरलाई वडा कार्यालयको मातहतमा पठाएपनि कार्यसम्पादन सन्तोष नभएको वडाध्यक्षहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार