कालिकोट : कालिकोटको पलाँता गाउँपालिका ९ थिर्पुमा खानेपानीको धाराबाट भात बगेर आएको छ । धारामा पानी थाप्न गएकोे बेला पानी संगै भात बगेर आएको लंकबहादुर बमले बताउनुभयो । एक सय भन्दा बढी घरले उपभोग गर्दै आएको पानीको पाइपबाट भात बगेर आएको हो ।
कालच्युरी, पिलकोट, वड, लखनवाडा लगायतका बस्तीमा दुषित पानीका कारण केही विरामी समेत भएको बमले बताउनुभयो ।
खोलाबाट आउने कुलो र खानेपानीको पाइप एकै ठाउँमा भएका भएकाले दुषित पानी मिसिएर आएको हुनसक्ने स्थानीयबासिन्दाको बुझाई छ । खानेपानीको पाइप बीचबीचमा टुटफुट भएकाले खोलाको पानी समेत पाइपमा मिसिएर आउने गरेको छ ।
पलाँता गाउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पुराना आयोजनाहरु जिर्ण भएका कारण मर्मत सम्भार, निर्माण र स्तरोन्नति गरेर स्थानीयको खानेपानी अधिकार सुनिश्चत गर्ने बताउनुभयो ।
२०६४ सालमा निर्माण भएको दाम्रीपुछर खानेपानी आयोजना अहिले जिर्ण अवस्थामा संचालन भइरहेको छ ।


857 पटक हेरिएको 

