कावासोती : कावासोती नगरपालिका- १६ को अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशमै उत्कृष्ट घोषित भएको छ। सरकारले राखेका सबै मापदण्ड पूरा गरेकाले गण्डकी प्रदेशको ११ वटा जिल्लाभरिका खानेपानी मध्ये उत्कृष्ट संस्था घोषित भएको हो।
खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशबाट अग्यौली खानेपानी संंस्था सँगै कोशी प्रदेशबाट काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, मधेस प्रदेशबाट लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, वाग्मती प्रदेशबाट शारदानगर जागृति शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था यस्तै लुम्बिनी प्रदेशबाट शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, कर्णाली प्रदेशबाट विजेश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता र सुदुरपश्चिम प्रदेशबाट अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सम्मान गरिएको थियो ।
२०६४ सालमा स्थापना भएको अग्यौली खानेपानी संस्थाले स्वच्छ र सर्वसुलभ रुपमा खानेपानी वितरण गरेको संस्थाका सचिव अर्जुन चालिसेले बताउनुभयो । अग्यौली खानेपानी संस्थाले कावासोती नगरपालिकाको मुख्य डण्डा बजार सहित वडा नं. १४, १५, १६ र १७ वडामा बसोबास गर्ने करिब तीन हजार ग्राहक उपभोक्ताले पिउने पानी उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । भूमिगत जलस्रोतमा आधारित ओभरहेड ट्याङ्क मध्ये २ वटा सौर्य शक्तिबाट सञ्चालनमा रहेको संस्थाले जनाएको छ ।
२४ सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिट भन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निःशुल्क गरेको, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको, चाडपर्वमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले बताउनुभयो ।
त्यस्तै चार वटा वडाको सिफारिसमा न्यून आय भएका १२ वटा धारा निःशुल्क जडान, धारा जडान गर्न नसक्नेहरुका लागि समूह बनाएर निःशुल्क मिटर जडान गरिदिने गरेको, जुनसुकै उपभोक्ताको मृत्यु भए पनि २५ हजार नगद र श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्ने लगायत काम गरिएकाले त्यसैको मूल्याङ्कनका आधारमा उत्कृष्ट भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।
यस्तै पानीको स्वच्छता, व्यवस्थापन र दीर्घकालीन योजनामा संस्थाले दीर्घकालीन योजना निर्माण गरेको संस्थाले जनाएको छ । तीन हजार उपभोक्ता रहेको यो खानेपानी उपभोक्ता संस्थाले महसुलबाट मासिक १० देखि १२ लाख रुपियाँ आम्दानी गर्ने गरेको जनाएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले सम्पूर्ण उपभोक्ता,कार्य समिति, लेखा समिति, कर्मचारी तथा प्राविधिकहरूलाई बधाई दिंदै आगामी दिनमा पनि आम उपभोक्तामाझ शुद्ध पिउने पानी तथा गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो ।