सुत्केरी हुँदा पानी पनि पैचो !

धादिङ : ब्रुसबाङकी फुलमाया चेपाङले सुत्केरी हुँदा समेत पोषणयुक्त खाना त पाइनन् नै, पानी समेत पैंचो लिएर बच्चा हुर्काउनु प-यो । स्थानीय खाद्य अधिकार समूहकी अध्यक्ष समेत रहेकी फूलमायाले सुत्केरीमा पानी अभावले पाएको पीडा सम्झिँदै भनिन्, “सासुससुराबाट पानी पैंचो गरेर बच्चालाई नुवाइधुवाइ र लुगा धोएँ ।” 

गाउँमा पुगेका जिल्लास्तरीय एक समूहसँग उनले छ वर्षदेखि खाद्य अधिकार खोज्दै हिँडे पनि अधिकार नपाएको गुनासो गरिन् । “हामी चेपाङले पनि अन्नपानी खान, स्वास्थ्य शिक्षाको अवसर पाउँछौ ?” चेपाङले प्रश्न गरिन । 

पुस्तौंदेखि खानेपानी र खाद्यान्न अभावमा संघर्ष गरिरहेका ब्रुसबाङ चेपाङ समुदायसँग समूहले स्थलगत अवलोकन गरी छलफल गरेको छ । हामी ३६ घर चेपाङ परिवार वरिपरिको विकास हेरेर बसेका छौं । धेरै पटक सदरमुकाम गएर समस्या बतायौं । आशै आशमा दिनहरू बितिरहेका छन् । हामीलाई कि खानेपानी ल्याइदिनुस् कि घर जग्गासहित पानी, स्कुल भएको ठाँउमा बस्ती सारीदिनुस् खाद्य अधिकार समूहका संयोजक प्रेमबहादुर चेपाङले भने ।

शिक्षा नभई अन्तर्राष्ट्रियमा त के, राष्ट्रमा समेत काम गर्न नपाउने अवस्थामा चेपाङले बाल शिक्षाकै भरमा के काम पाँउछन् र ? पढ्न पाए हाम्रा बालबालिका पनि अरु जाति सरह हुन्छन् । पानी पाए हामी पनि नुवाइधुवाइ गथ्र्यौं । हामी ज्याला गर्न गएर महिना  सम्म घर छाडेर जाँदा घरमा बिरामी परे धामीझाँक्री र सिटामोल ल्याउने कोही हुँदैनन् सोमीलाल चेपाङले भने । हामीले यसअघि नै पानी ल्याइदिन नसक्ने भए बस्ती सारी दिन भनिसकेका छौं चेपाङहरूले थपे ।

“बस्ती पहाडको चुचुरोमा भएको र आसपासका डाँडाहरूमा पानीका मुहान नभएका कारणले पानीको विकल्प बस्ती स्थानान्तरण भएकाले जिल्लाका सरोकारवाला मिलेर खानेपानी, आवास, स्कुल, स्वास्थ्य चौकी भएकोे आसपास बस्ती सारेर समुदायको समस्या समाधान गर्नुपर्छ,” प्रमख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताए ।

ब्रसबाङको बस्ती स्थानान्तरण गरी एकीकृत सुविधासहितको नयाँ ब्रसबाङ निर्माण गर्न जिल्ला समन्वय समिति धादिङले यसअघि नै प्रतिबद्धता जनाएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।

अहिले पनि खानेपानी र खाद्यान्नको संकटमा चेपाङहरू बस्नु पर्दा राज्यलाई अफ्ठ्यारो लाग्नु पर्ने हो तर लागेको छैन । अझ ३६ परिवार ब्रसबाङ चेपाङको विषयमा ६ वर्षदेखि निरन्तर छलफल भइरहेको छ, समाधान भएको छैन नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङले बताए । 

उच्चस्तरीय टोलीमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी, देवीदत्त गणका गणपति प्रमुख सेनानी भरत बुढाथोकी, बेनीघाट गाँउपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, डीएसपी रामबहादुर केसी, गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, वडाध्यक्ष टंकबहादुर थापा, खाद्य अधिकारकर्मी तथा सञ्चारकर्मीसहितको टोलीले चेपाङ समुदायसँग सामूहिक र व्यक्तिगत छलफल गरेको खबर कारोबार दैनिकले छापेको छ । 

बस्ती पहाडको चुचुरो तथा हिमालको आमुन्ने सामुन्ने १८४५ मिटर उचाइमा रहेका कारण हिउँदवर्षै चिसो हुन्छ । गरिबीका कारण ३६ घरका १७० जना चेपाङ लगाएकै कपडाको भरमा सुत्छन् । कयौं घर खरको अभावमा छाउन सकेका छैनन् ।

८ महिनामा पाक्ने मकैले ६ महिनासम्म खान पुग्छ । बाँकी ६ महिना सिस्नो, टाँकी गिठाभ्याकुर लगायतका जंगली कन्दमुल खानुपर्ने बाध्यता छ । उनीहरूको आयआर्जन बाँस र निगालोको डोको, भकारी बनाएर बेच्नु हो । जसोतसो शास धानिएको छ ।

देशलाई खुला दिसामुक्त घोषण गर्ने अभियान अन्तिम चरणमा पुगेको भए पनि ब्रसबाङमा पानी अभावमा शौचालय निर्माण समेत हुन सकेको छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार