नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले अस्पतालजन्य फोहोर सडकमा फाल्ने अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्न उपमहानगरपालिकाले कारबाही गर्न सुरु गरेको हो।
भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई सडकमा फोहोर फालेपछि ५ हजार रुपैयाँ जरिवाना तिराइएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो।
स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै अस्पतालजन्य फोहोर फालेको पाएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७५ बमोजिम जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताउनुभयो। स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा। अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजिया सहितको टोलीले अनुगमनमा गरेको थियो ।
एक साताअघि मात्रै पनि नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जस्थित आशीर्वाद पेन्ट्स प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।