सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् ।
प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? तर नपत्याई सुखै छैन । खुला ठाउँमा दिसा गरिरहेको अवस्थामा हेडमास्टर यादवलाई शुक्रबार प्रहरी सहित सरसफाइ अभियन्ताको टोलीले पक्राउ गरी चार दिनभित्र चर्पी बनाउने प्रतिबद्धता गराएर छाडेका छन् ।

चार दिन भित्र चर्पी बनाउने प्रतिबद्धता गर्दै हेडमास्टर यादव
प्रधानाध्यापक यादवको विद्यालयबाट सेवा निवृत्त हुन ११ महिना मात्र बाँकी छ । तर उनी प्रधानाध्यापक भएर पनि जीवनभर नै खुला दिसा गरिरहे । अर्को अचम्मको कुरा त के छ भने उनले पढाउने विद्यालयमा पनि अहिलेसम्म चर्पी बनेको छैन । विद्यालयमा अध्ययनरत बालबालिका बाहिरै दिसापिसाब गर्छन् ।
उनीसँग के छैन ? तलब, जग्गा जमिन तथा अरु नै सम्पत्ति । मासिक २५ हजार भन्दा बढी तलब बुझ्ने गरेका हेड मास्टर यादवको चिटिक्क परेको घर र चार पाँच विगाहा जग्गा रहेको पत्रकार देवकुमार यादव बताउनुहुन्छ ।
१ छोरा र २ छोरीका बुबा यादवले छोरालाई बोर्डिङमा पढाइरहनुभएको छ ।

शिक्षकहरुले लाज पचाएर चर्पी नबनाएपछि सिरहामा चर्पी बनाउने काम प्रभावित हुदै आएको छ । सिरहामा चर्पी बनाउने काम अन्तिम चरणमा पुगेपनि शत प्रतिशत नागरिकको घरमा चर्पी बनाउन फलामको चिउरा चपाउन जस्तै गाह्रो भएको सरसफाइ क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीहरु बताउँछन् ।
फोटोहरु : पत्रकार देवकुमार यादव ।


2010 पटक हेरिएको 

