सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा उत्पादित फोहोरलाई हवाईजहाजबाट ढुवानी गरी काठमाडौं पु-याउने गरिएको छ । अहिलेसम्म ७ वटा उडान मार्फत सगरमाथा क्षेत्रमा उत्पादित १५ हजार २ सय २९ किलो फोहोरलाई हवाईजहाज मार्फत काठमाडौ पु-याइएको छ ।
फोहोर ढुवानीका लागि करिब १० लाख रुपैयाँ खर्च भएको तारा एयरलाइन्सका सहायक स्टेशन म्यानेजर अमृत मगरले जानकारी दिनुभयो ।
सगरमाथा आधारशिवीर तथा पर्यटकीय मार्गमा पर्ने होटल तथा लजबाट निस्कने फोहोरलाई सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले लुक्ला सम्म ढुवानी गर्दै आएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले संकलन गरेको फोहोरलाई तारा एयरले लुक्लाबाट काठमाडौसम्म निशुल्क ढुवानी गर्दै आएको छ ।
तारा एयरले सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा क्षेत्रमा उत्पादित फोहोरलाई निशुल्क काठमाडौँसम्म ढुवानी गर्ने सम्झौता बमोजिम हरेक बर्ष उत्पादित फोहोरलाई काठमाडौ लैजादै आएको छ ।
सन् २०१६ मा तारा एयर र एसपिसिसी बीच बार्षिक १२ टन फोहोरलाई तेन्जिङ हिलारी विमानस्थल लुक्लादेखि त्रिभुवन विमानस्थल काठमाडौँसम्म निःशुल्क ढुवानी गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार सन् २०१६ मा ४ हजार २ सय २९ किलो र सन् २०१७ मा ११ हजार किलो फोहोर काठमाडौ ढुवानी गरेको सहायक स्टेशन म्यानेजर मगरले जानकारी दिनुभयो । उहाँकाअनुसार तीन वर्षसम्मका लागि भएको सम्झौता अनुसार अझै एक बर्ष बाँकी छ ।
पर्यटकीय क्षेत्रमा अक्सिजनका सिलिण्डर, टेन्टहरु, पर्यटकले प्रयोग गर्ने ग्याँस सिलिण्डर लगायत स्थानीयले पुनः प्रयोग गर्न नमिल्ने फोहोरहरु भएकाले काठमाडौमै ढुवानी गर्नुपरेको एसपीसीसीले जनाएको छ ।
एसपीसीसीले सगरमाथा क्षेत्रको फोहोर संकलनका लागि पर्यटकीय मार्गमा कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न मिल्ने व्यवस्था सहितको फोहोर फाल्ने ठाउँ बनाएको छ ।