पानी नहुँदा प्रसुति सेवा बन्द, ३० जना आमाले घरमै बच्चा जन्माए

 622 पटक हेरिएको

बैतडी : बैतडीको पुरचौंडी नगरपालिकाको वडा नं. ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा पानीको व्यवस्था नहुँदा प्रसुति सेवा बन्द भएको छ । गाउँलेले पिउने खानेपानी लाइनबाट स्वास्थ्य चौकीमा ल्याएको पानी बीचैमा टुटेपछि स्वास्थ्य चौकीमा पानीको अभाव भएको हो ।

गाउँमै खानेपानीको अभाव भएपछि स्वास्थ्य चौकीमा पानी नपठाएको र पानीको अभावमा करिब एक बर्ष यता प्रसुति सेवा बन्द भएको स्वास्थ्य चौकीले जनाएको छ । प्रसुति सेवा बन्द भएपछि गर्भवती महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् ।

प्रसुति सेवा बन्द भएपछि अहिले सम्म ३० जना भन्दा बढी आमाले घरमै बच्चा जन्माएका छन् भने ५० जनाले अरु स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन् । खानेपानीको अभावमा प्रसुति सेवा बन्द हुँदा घरमै बच्चा जन्माउनु परेको र यसले आमा र नवजात शिशुको जीवन नै जोखिममा रहेको तल्लादेहीकी तारा भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोसीका अनुसार स्वास्थ्य चौकीमा प्रसुती सेवा बन्द हुँदा पूर्ण संस्थागत सुत्केरी अभियानमा समेत असर पुगेको छ । हेल्थ फाउन्डेसन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले भने स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्था गर्न सरोकारवालासँग छलफल शुरु भएको बताउनुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार