चर्पी भिक्षा माग्दै विद्यार्थीको -याली

 1040 पटक हेरिएको

झापा, दुधे (शिवसताक्षी)

चर्पी नबनाएका घरधुरीलाई चर्पी बनाउन अनुरोध गर्दै शिवसताक्षीका विद्यार्थीहरुले सरसफाइ -याली निकालेका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने दूधे बजारबाट निस्केको विद्यार्थीहरुको -याली सहित चर्पीको भिक्षा माग्ने कार्यक्रम किराँत चोकमा पुगेर समापन भएको थियो ।

 

 

‘मानव सभ्यताको यो समयमा पनि खुल्लामा दिसा गर्ने वानीका कारण हाम्रो समाजको बेइज्जत र अपमान भैरहेको छ’, विद्यार्थीलाई हौसला थप्न पुग्नुभएका सतासी आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर थापाले भन्नुभयो, ‘त्यसैले विद्यार्थी सहितको सहभागितामा जनचेतनामूलक -याली र चर्पीको भिक्षा माग्ने कार्यक्रम गर्नुपरेको छ ।’

 

आफ्ना विद्यार्थीहरुलाई सरसफाइ प्रवद्र्धनका सन्देश लेखिएका प्लेकार्ड सहित चर्पीको भिक्षा माग्ने कार्यक्रममा हौसला दिइरहनुभएका शिव आधारभूत विद्यालयका शिक्षक वासुदेव नेपाल त विद्यार्थीहरु सहित चर्पी नबनाउने घरधुरीलाई सम्झाउन समेत पुग्नुभयो । ‘हामीले विद्यालयमा सफा रहनुपर्छ भन्ने पढाएर मात्र के काम, घरमा नै चर्पी छैन भने ?’

नेपालले भन्नुभयो, ‘राजमार्गमा पर्ने नगरपालिका भएर पनि अझैसम्म खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन, त्यसैले आज सन्देशमूलक कार्यक्रम गर्नुपरेको छ ।’

 

सधैंजसो विद्यार्थीहरुलाई कक्षा कोठामा केन्द्रित गरेर पढाउने निजी विद्यालय (अंग्रेजी विद्यालयहरु) ले समेत बुधबार विद्यार्थीलाई घरदैलोमा पठाए । ध्रुवतारा अंग्रेजी आवासीय विद्यालयका प्राचार्य भीम लिवाङले विद्यार्थीले लगाउने टाइ र यूनिफर्मले मात्र सभ्यताको परिचय नदिने भएकोले विद्यार्थीलाई समुदायमा ल्याउनुपरेको बताउनुभयो ।

‘स्कूलभित्र यूनिफर्म लगाउँदैमा र अंग्रेजी बोल्दैमा सभ्य नभइँदोरहेछ, सरसफाइलाई जीवनपद्धति बनाउन सक्नुपर्ने रहेछ’ प्राचार्य लिवाङले भन्नुभयो, ‘अझै पनि चर्पी बनाउनुहोस् भन्दा झगडा गर्ने घरधुरी हाम्रोजस्तो नगरपालिकामा बाँकी रहेछन्, आफैलाई लाज लाग्यो ।’

एक महिनाको कार्ययोजना बनाएर अभियानमा लाग्नु : प्रमुख शेर्मा

विद्यार्थीहरुलाई हौसाउन पुग्नुभयो शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा । ‘आउँदो एक महिनाभित्र शिवसताक्षी नगरपालिकालाई खुल्ला दिसामुक्त अवस्थामा पु-याउनुपर्छ’ शेर्माले निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिंदै भन्नुभयो, ‘एक महिनाको कार्ययोजना बनाएर अभियानमा लाग्नु होला । विद्यालयहरुले सेवा क्षेत्रस्तरीय कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनुहोला ।’

 

घरदैलो अभियानमा सहभागी भावना मिश्रले आफ्नो विद्यालयमा अध्ययनरत चर्पी नहुने साथीहरुको घरमा पुगेर अभिभावकलाई चर्पी बनाउनका लागि अनुरोध गर्ने बताउनुभयो ।

अर्का विद्यार्थी समिर श्रेष्ठले सामाजिक परिवर्तनका लागि विद्यार्थीहरु भोलिका कर्णधारमात्र नभै वर्तमानका साझेदार भएकोले सरसफाइ अभियानमा सक्रिय भएको बताउनुभयो ।

९ हजार २ सय २३ घरधुरी रहेको शिवसताक्षी नगरपालिकाका ८ हजार ५२ घरमा सुरक्षित चर्पी रहेका छन् भने १ हजार १ सय ७१ घरधुरीमा सुरक्षित चर्पी बन्न बाँकी छ ।

 

‘फागुन १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने गरी दैनिक कार्ययोजना बनाएर अभियान अगाडि बढाइएको छ’ नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य समेत रहेका बिराट सामुदायिक अध्ययन केन्द्रका एरिया संयोजक किशोर बूढाथोकीले भन्नुभयो, ‘यसका लागि सम्पूर्ण संघसंस्था र निकायको जिम्मेवारी सहित कार्ययोजना तयार पारी परिचालनको काम भैरहेको छ ।

जम्मा १५ स्थानीय तह रहेको झापा जिल्लामा दुई गाउँपालिका मात्र खुल्ला दिसामुक्त घोषणा भएका छन् भने अझै करिब २४ हजार घरमा सुरक्षित शौचालयको पहुँच पुग्न बाँकी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार