धनकुटा : वर्षौ देखि खानेपानी अभाव झेल्दै आएका लावरवोटेका बासिन्दाले निर्माण कार्य शुरु भएको ७ महिनामै शुद्ध खानेपानी पिउन पाएका छन् । घरघरमै धारा निर्माण गरी शुद्ध खानेपानी वितरण हुन थालेपछि यत्तिबेला लावरवोटेका ८५ घरपरिवारमा खुसीको सीमै छैन ।
गत असार देखि लगातार पाइप लाइन खन्ने काम सुरु भएपछि खानेपानी आउने विषयमा उपभोक्ताहरु आसावादी बनेका थिए । ३ महिनामै मुहान देखि रिजर्भ ट्यांकी सम्म ३५ सय मिटर पाइप लाइन खन्ने काम, इन्टेक निर्माण र रिजर्व ट्यांकी निर्माण भइसकेको थियो । दोश्रो चरण सुरु हुनु भन्दा अघि नै घरघरमा धारा जोड्ने कार्य गरेपछि भने लावरवोटे खानेपानी आयोजनाका उपभोक्ताहरुले सातौ महिनादेखि शुद्ध पानी घरघरमै प्राप्त गरेका हुन् ।

फोटो : पानीको गुणस्तर परिक्षण गर्दै, उपभोक्ता समितिका सदस्य ।
४ महिनामै उपभोक्ताहरुको घरघरमा पानी पु-याउने लक्ष्य राखेपनि बीचमा दशै तिहार जस्ता चाडपर्व परेकाले केही समय उपभोक्ताकै सहमतिमा कार्य स्थगित गर्नु परेको पर्डेप नेपालका प्रविधिक गणेश श्रेष्ठले बताउनुभयो ।
२०७४ जेठमा सम्झौता भए भएपनि खानेपानी निर्माणको काम भने लगभग १ महिना पछि मात्र शुरु भएको थियो ।
फण्डवोर्ड काठमाण्डौ र पर्डेप नेपाल धनकुटाको समन्वयमा सञ्चालित खानेपानी आयोजना ३३ लाख ९६ हजारमा निर्माण सम्पन्न भएको हो । ती मध्ये ४ लाख पच्चीस हजार उपभोक्ताहरुबाट नगद संकलन गरेका छन् भने ४ लाख बराबरको श्रमदान गरेका छन् । बाँकी फण्डवोर्डको अनुदान रहेको छ ।
निर्माण शुरु भएको छोटो समयमै आयोजना सम्पन्न गरी घरघरै खानेपानी वितरण गर्न पाएपछि एकदमै खुशी लागेको खानेपानी उपभोक्ता समितिकी सदस्य लिना देवान बताउनुहुन्छ ।


804 पटक हेरिएको 

