बुढीमोरङ बृहत लिफ्टिङ खानेपानी आयोजनाको शिलान्यास

  वास खबर सम्बाददाता  525 पटक हेरिएको

धनकुटा  : खानेपानी मन्त्री प्रदीप यादवले धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै नेपाली नागरिकको घर–घरमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेको घोषणा गर्नु भएको छ।

शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले तीव्र रूपमा योजना कार्यान्वयन भइरहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ। यो शिलान्यासले सङ्गुरीगढी गाउँपालिका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ।”

मन्त्री यादवले आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना साकार पार्ने विश्वास व्यक्त गर्नुहुँदै खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्ने दिशामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो।

संघीय, प्रदेश र स्थानीय सरकारबीच संविधान बमोजिम समन्वय गरी योजना निर्माण, कार्यान्वयन र निगरानी गरिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले भन्नुभयो, “सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने अठोटसाथ हामी दुर्गम, ग्रामीण तथा पिछडिएको क्षेत्रहरूमा गुणस्तरीय खानेपानी पुर्‍याउने अभियानमा लागिपरेका छौँ। आजको आयोजना त्यही यात्राको महत्वपूर्ण पाइला हो।”

सह–लगानी मोडेललाई सरल र जनमैत्री बनाउँदै ८५–१५ को अनुपातमा रूपान्तरण गरिसकिएको जानकारी दिँदै उहाँले विकट र सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन आफू निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो। आयोजनाहरूको स्थलगत निरीक्षण गर्दै समस्या बुझ्न, समाधान खोज्न र योजनाहरूमा गति दिन लागिपरेको बताउँदै मन्त्री यादवले समयपालना र गुणस्तरीय कार्यान्वयनमा कुनै सम्झौता नगर्ने स्पष्ट गर्नु भयो।

“खानेपानी मात्र होइन, सरसफाइ पनि हाम्रो प्रमुख सरोकार हो। खुला दिसामुक्त समाज, स्वच्छ विद्यालय र सफा बस्ती निर्माणमा सरकार पूर्ण प्रतिबद्ध छ,” उहाँले जोड दिनु भयो।

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले बुढीमोरङ आयोजना जस्ता परियोजनाहरू तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँले समस्याहरूको दीर्घकालीन समाधानमा सरकार दृढ रहेको र आगामी आर्थिक वर्षमा पनि योजनाहरूलाई निरन्तरता दिइने बताउनु भयो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले शिलान्यास कार्यक्रम केवल आयोजना सुरुवात मात्र नभई सङ्गुरीगढीवासीको स्वास्थ्य, सम्मान र समृद्ध जीवनशैलीमा महत्वपूर्ण पाइला रहेको टिप्पणी गर्नु भयो।

उहाँका अनुसार, आयोजनाले चार सय ६४ घरपरिवार र दुई हजार दुई सय १३ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । मुख्य स्रोत काम्फुवा खोलाबाट प्रति सेकेन्ड २२ लिटर पानी लिफ्टिङ प्रविधिबाट ल्याइने व्यवस्था गरिएको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका अनुसार आयोजनाको कुल लागत सात करोड २१ लाख ७७ हजार सात सय ३७ रुपैयाँ रहेको छ। जसमा सरकारको योगदान ९० प्रतिशत अर्थात् चार करोड ७४ लाख १६ हजार ३१ रुपैयाँ रहनेछ भने समुदायबाट १० प्रतिशत अर्थात् ५२ लाख ६८ हजार चार सय ४७ रुपैयाँ संकलन गरिनेछ।

आयोजनामा पम्प हाउस, ब्रेक प्रेसर ट्याङ्की, इलेक्ट्रिकल ट्रान्समिशन लाइन, भल्भ चेम्बर लगायतका पूर्वाधार संरचनाहरू समावेश गरिएको छ। ठेक्का सम्झौता अनुसार आयोजनाको लागत चार करोड ४९ लाख ९९ हजार नौ सय ४१ रुपैयाँ रहेको जनाइएको छ।

शिलान्यास समारोहमा सङ्गुरीगढी गाउँपालिकाका सम्माननीय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेता, कर्मचारी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार