
सिमकोट : सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने अभ्यास अन्त्य गर्न नाम्खा गाउँपालिकाले उदाहरणीय पहलस्वरूप डस्टबिन वितरण गरेको छ। “सवैका लागि दिगो खानेपानी तथा सरसफाई (सुस्वा)” आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र याल्वाङमा रहेका विभिन्न सार्वजनिक स्थान र संस्थाहरुलाई डस्टबिन उपहार स्वरूप प्रदान गरिएको हो।
कार्यक्रमका संयोजक दन्तबहादुर शाहीका अनुसार, वातावरणीय स्वच्छता कायम राख्न र नागरिकमा सचेतना फैलाउन गाउँपालिकाले यो कदम चालेको हो। डस्टबिन वितरणको मुख्य उद्देश्य भनेको घरआँगन वा सार्वजनिक स्थलमा फोहोर छरपस्ट नगरी एउटै स्थानमा संकलन गर्ने संस्कार विकास गर्नु हो।
स्थानीय स्रोत साधनको प्रयोग गरी पातलो काठबाट हलुका तथा उपयोगी डस्टबिन निर्माण गरिएको छ, जुन विद्यालय, छात्रावास, आनी गुम्बा, गाउँपालिकाका सम्पूर्ण शाखा तथा होटेलहरूमा वितरण गरिएको छ। यस कार्यमा सुसा आयोजनाले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको हो।
स्थानीय बासिन्दाका अनुसार, अघिल्ला दिनमा जथाभावी फोहोर फाल्दा दुर्गन्ध फैलिने, रोगको जोखिम बढ्नेजस्ता समस्या देखिन थालेका थिए। सोही समस्याको समाधानका लागि गाउँपालिकाले सचेतना सहितको यो पहल अघि बढाएको हो।


927 पटक हेरिएको 

