बर्दिया : बर्दियाको सदरमुकाम गुलरियामा सरसफाइ अभियान शुरु भएको छ । ‘सफा गाउँ सफा शहर सफा बर्दिया, सरसफाइ अभियान’ नाम दिइएको अभियान जिल्ला प्रशासन कार्यालय र गुलरिया नगरपालिकाको कार्यालय अगाडि भेला भएर भन्सार रोड र खानेपानी रोडबाट शुरु भएको हो ।
बर्दियामा हिजो सम्पन्न बहु क्षेत्रगत सरोकारवाला निकायका प्रतिनिधिहरुले बर्दियालाई सफा सुग्घर बनाउन साप्ताहिक सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । ‘सफा गाउँ, सफा शहर, सफा बर्दिया साप्ताहिक सरसफाइ अभियान अब देखि हरेक हप्ताको शनिबार सञ्चालन हुनेछ ।

अभियानमा सर्वसाधारण देखि सिडिओसम्म
आज देखि शुरु भएको सरसफाइ अभियानमा सर्वसाधारण देखि प्रमुख जिल्ला अधिकारसम्म सहभागी भएका छन् । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, गुलरिया नगरपालिका प्रमुख मुक्ति प्रसाद यादव, उपप्रमुख सुशिला गिरी, स्थानीय विकास अधिकारी विश्वमित्र कुईकेल, खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख दिलिप कुमार, वडा अध्यक्षहरू, युएन हेविटाट, आईडिएस नेपाल, मायुस, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, आमसञ्चारकर्मी लगायत जिल्ला स्थित खानेपानी र सरसफाइसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्था र आम नागरिकले आफूले सकेको सरसफाइ गरेका थिए । सरसफाइबाट संकलित १ ट्याक्टर फोहोर नगरपालिकाको डम्पिङ साइटमा लगेर व्यवस्थापन गरिएको छ ।

हरेक साता टोलबासी आफैले सरसफाइ गर्नुपर्ने
सफाइ अभियान पछि गुलरिया नगरपालिका प्रमुख मुक्ति प्रसाद यादवले अबदेखि हरेक साता टोलबासी आफैले सरसफाइ गर्नुपर्ने र त्यसको अनुगमन नगरपालिकाले गर्ने बताउनुभयो ।
यस्तै जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव दिलिप कुमारले गुलरियामा नगरपालिकाले हरेक साता टोल सरसफाइ गरी सफा र हरियाली शहर बनाउने बताउनुभयो ।

यस्तै युएन हेविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले साप्ताहिक सरसफाइ अभियानलाई जिल्ला व्यापी बनाउने बताउनुभयो ।
युएन हेविटाटको सहयोगमा आईडिएस नेपाल र मायुस बर्दियाको सहजीकरण र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गुलरियाले आयोजना गरेको सरसफाइ अभियानमा करिब १३० जनाको सहभागिता थियो ।


774 पटक हेरिएको 

