हंसपुरमा वास क्षेत्रगत योजना पुनरावलोकन र वित्तिय रणनीति तर्जुमा

वास क्षेत्रका लागि १ करोड ५२ लाख विनियोजन गरिने

  वास खबर सम्बाददाता  452 पटक हेरिएको

धनुषा : धनुषाको हंसपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा रु. १ करोड ५२ लाख विनियोजन गर्ने साझा प्रतिबद्धता जनाएको छ।

२०८२ जेठ ९ र १० गते आयोजित “खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना पुनरावलोकन तथा वित्तीय रणनीति तर्जुमा कार्यशाला” मा नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरूको सहमतिमा संयुक्त निष्कर्ष सार्वजनिक गरिएको हो।

कार्यशालामा नगर प्रमुख प्रदीप यादवले सुरक्षित पिउने पानी तथा सरसफाईमा पहुँच पाउनु नागरिकको मौलिक अधिकार भएको र यो अधिकार सुनिश्चित गर्न वास प्लानको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो । उहाँले वास प्लानले निर्दिष्ट गरेका कार्यक्रमहरु कार्यान्वयन गर्न हंसपुर नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यशालाको निष्कर्ष:

  1. • नेपाल सरकारको दिगो विकास लक्ष्य अन्तर्गत “सवैका लागि सुरक्षित खानेपानी, व्यवस्थित सरसफाइ र स्वच्छता” प्राप्त गर्न संघ, प्रदेश तथा स्थानीय सरकारबीच सहकार्य र समन्वयमा आधारित योजनाहरू अघि बढाइनेछ।

  2. • ‘राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH MIS)’ मा आधारित स्थानीय तहको WASH योजना (वास प्लान) अनुसार कार्यक्रमहरू सञ्चालन गरिनेछ।

  3. • आर्थिक वर्ष २०८२/८३ मा प्राथमिकता प्राप्त योजनाहरूमा रु. १,५२,००,००० बजेट विनियोजन गरी लगानी तथा सह-लगानी मार्फत कार्यक्रम सञ्चालन गरिनेछ।

  4. • योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँगै अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग समन्वय र सहकार्य गरिने स्पष्ट उल्लेख गरिएको छ।

• नगरपालिकाले यस्तो कार्यक्रममार्फत नीतिगत, कानूनी र संस्थागत संरचना मजबुत गर्दै स्थानीय तहको समावेशी र दिगो विकास लक्ष्य हासिल गर्न ठोस पाइला चालेको जनाएको छ।

कार्यशालामा यस्ता कार्यक्रमहरूको बजेट सहित सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार कुल बजेट रकम १ करोड ५२ लाख रुपैयाँ रहेको छ।

प्रस्तावित कार्यक्रम तथा बजेट :

१. विभिन्न संघरसंस्थाका लागि पालिकाको सह-लगानी (युनिसेफ आदि) रु १५,००,०००
२.  खानेपानी तथा सरसफाइ युनिट र पानी जाँच ल्याबको Reagent खरिद, मानव स्रोत व्यवस्थापन रु ७,००,०००
३.  विद्यालयमा पहुँचयुक्त खानेपानी र तिन तारा पद्दति अनुसार संरचना निर्माण रु. ४२,००,००० (६ वटा मा.वि.)
४.  स्वास्थ्य संस्थामा संरचना निर्माण तथा मर्मत सम्भार रु. १५,००,००० (३ वटा)
५.  वडागत सरसफाइ तथा स्वच्छता प्रवर्द्धन अभियान रु. ९,००,००० (प्रति वडा १ लाख)
६. WASH MIS (N-WASH) अद्यावधिक रु. २,००,०००
७. खानेपानी सुविधा (ह्याण्डपाइप, सानो टंकी, पाइप सिस्टम) रु. २५,००,००० —
८. विपद्का अवस्थामा खानेपानी तथा सरसफाइ सेवा रु. २,००,०००
९. सार्वजनिक शौचालय तथा फोहर व्यवस्थापन रु. ३०,००,०००
१०. सुरक्षित खानेपानी युक्त समुदाय घोषणा रु. ५,००,०००

नगरपालिकाले यस बजेटलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि स्थानीय, प्रादेशिक, संघीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्ने उल्लेख गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार