
सप्तरी : अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ मा अवस्थित बेहराचाप खानेपानी तथा सरसफाइ आयोजनाको औपचारिक शिलान्यास सम्पन्न भएको छ।
BMZ/VCA/WHH को आर्थिक तथा प्राविधिक सहयोगमा महुली सामुदायिक विकास केन्द्र (MCDC) द्वारा सञ्चालित “UP-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal परियोजनाको अन्तर्गत गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो।
उहाँले यो आयोजना स्थानीय समुदायको सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न एक महत्वपूर्ण र ठोस पहल भएको बताउनु भयो। अध्यक्ष चौधरीका अनुसार यो आयोजना गाउँवासीहरूको दीर्घकालीन सपना साकार गर्ने दिशामा उल्लेखनीय कदम हो।
आयोजनाबाट वडा नं. १ का करिब ३५ घरधुरीका १७५ जना बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। वाश अधिकृत सन्तोष चौधरीका अनुसार यसले खानेपानी तथा सरसफाइ सेवामा सहजता ल्याउनुका साथै दिगो विकास लक्ष्य SDG-६ मा पुग्नमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ।

शिलान्यास समारोहमा स्थानीय समुदायको उत्साहजनक उपस्थिति र सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष चौधरीले कार्यक्रममा सहभागी भई साथ र सहयोग पुर्याउने सम्पूर्ण समुदायप्रति हार्दिक आभार व्यक्त गर्नु भयो। साथै उहाँले आगामी दिनहरूमा पनि जनताको निरन्तर साथ, सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वाश सम्पर्क व्यक्ति, महुली सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष शाबित्री चौधरी, कार्यकारी निर्देशक प्रभु नारायण चौधरी, इन्जिनियर ओम प्रकाश पण्डित, तथा सामाजिक परिचालक इन्द्रकला चौधरी समेतको उल्लेखनीय उपस्थिति रहेको थियो।


384 पटक हेरिएको 

