
खानेपानी शुद्धीकरणका विभिन्न विधिमध्ये क्लोरिनेसन (Chlorination) सबैभन्दा साधारण, प्रभावकारी र सस्तो विधि मानिन्छ। क्लोरिनेसन भनेको पानीमा क्लोरिन वा क्लोरिनयुक्त रसायन मिसाएर त्यसमा रहेका सूक्ष्म जीवाणु, भाइरस तथा अन्य हानिकारक जीवहरूलाई नष्ट गर्ने प्रक्रिया हो।
यो विधि विशेषगरी सामुदायिक स्तरमा पानीको स्रोत वा वितरण प्रणालीमा प्रयोग गरिन्छ। तर क्लोरिनेसन गर्दा केही महत्वपूर्ण पक्षहरूलाई ध्यानमा राख्नु अत्यावश्यक हुन्छ, जसको उपेक्षा गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।
१. क्लोरिनको मात्राको सही निर्धारण
सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुरा हो, पानीमा मिसाइने क्लोरिनको मात्रा। अत्यधिक क्लोरिन प्रयोग गर्दा पानीको स्वाद र गन्ध खराब हुन्छ र शरीरमा नकारात्मक असर पर्न सक्छ भने कम क्लोरिन प्रयोग गरेमा जीवाणु नष्ट हुँदैनन् र रोगको जोखिम बढ्छ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले क्लोरिनेसन गरेको पानीमा क्लोरिनको मात्रा ०.१० देखि ०.५० मिलिग्राम प्रति लिटर (mg/L) को बीचमा हुनुपर्छ वा क्लोरिनेसन गरेको पानी परिक्षण गर्दा क्लोरिन अवशेष प्रति लिटर पानीमा ०.१० देखि ०.५० मिलिग्राम हुनुपर्दछ ।
२. पानीको गुणस्तरको मूल्याङ्कन
क्लोरिनेसन गर्नु अघि पानीको गुणस्तर विशेष गरी त्यसको गन्ध, धमिलोपन, PH स्तर, तापक्रम, र जैविक प्रदूषणको मात्रा आकलन गर्नुपर्छ। गन्ध वा माटो मिसिएको पानीमा क्लोरिन प्रभावकारी हुँदैन, किनभने क्लोरिनले पहिला ती अशुद्ध पदार्थसँग प्रतिक्रिया गरेर समाप्त हुन्छ र सूक्ष्म जीवाणुसम्म पुग्दैन। त्यसैले क्लोरिनेसन गर्नु अघि फिल्ट्रेसन वा सेडिमेण्टेसन प्रक्रियाबाट पानीलाई सफा गर्नुपर्छ।
३. क्लोरिनेसनको तरिका
क्लोरिनेसन गर्ने तरिकामा पनि ध्यान दिनु पर्छ। प्रायः प्रयोग गरिने रसायनहरूमा सोडियम हाइपोक्लोराइट, क्याल्सियम हाइपोक्लोराइट, वा ग्यास क्लोरिन पर्दछन्। कुन तरिका कुन ठाउँमा उपयुक्त हुन्छ भन्ने निर्णय प्रविधिको उपलब्धता, प्रयोगकर्ताको सीप र सुरक्षा व्यवस्थामा भर पर्छ।
४. सम्पर्क समय
क्लोरिनेसनपछि पानी र क्लोरिनको पर्याप्त सम्पर्क समय दिनुपर्छ, ताकि क्लोरिनले सबै हानिकारक जीवहरूलाई प्रभावकारी रूपमा नष्ट गर्न सकोस्। सामान्यतया कम्तीमा ३० मिनेटको सम्पर्क समय आवश्यक हुन्छ। पानी प्रयोग गर्नु अगाडि यो समय पर्खनु अनिवार्य हुन्छ।
५. बाँकी क्लोरिनको परीक्षण
क्लोरिनेसनपछि पानीमा बाँकी रहेको free residual chlorine को मात्रा जाँच गर्नु अत्यावश्यक हुन्छ। यसको लागि DPD reagent किट, test strips वा डिजिटल क्लोरिन मिटर प्रयोग गर्न सकिन्छ। यसले क्लोरिन प्रभावकारी रूपमा काम गरेको छ कि छैन भन्ने संकेत दिन्छ। नियमित अनुगमनबाट मात्र सुरक्षित पानी सुनिश्चित गर्न सकिन्छ।
६. भण्डारण र वितरण प्रणालीको सरसफाइ
पानी क्लोरिनेसन गरेपछि पनि यदि ट्याङ्की, पाइपलाइन वा भण्डारण प्रणालीमै फोहोर छ भने त्यसले पुनः पानीलाई प्रदूषित बनाउन सक्छ। त्यसैले क्लोरिनेसनसँगै पानीको सम्पूर्ण प्रणालीको सरसफाइ र मर्मतसम्भार पनि अनिवार्य रूपमा गर्नुपर्छ।
७. क्लोरिनको सुरक्षित ह्यान्डलिङ
क्लोरिन र क्लोरिनयुक्त रसायनहरू विषालु हुन्छन् र सही तरिकाले ह्यान्डल नगरे दुर्घटना हुन सक्छ। त्यसैले क्लोरिन राख्ने कन्टेनर सुरक्षित ठाउँमा राख्ने, हावा चल्ने ठाउँमा प्रयोग गर्ने, पञ्जा, मास्क, चश्मा आदि सुरक्षा सामग्री प्रयोग गर्ने आवश्यक हुन्छ।
८. जनचेतना र तालिम
क्लोरिनेसन प्रक्रिया प्रभावकारी बनाउनका लागि पानी समितिका सदस्य, अपरेटरहरू तथा स्थानीय बासिन्दाहरूलाई आवश्यक तालिम दिनुपर्छ। उनीहरूलाई क्लोरिनको सही प्रयोग, मात्रा निर्धारण, परीक्षण विधि, र आपतकालीन अवस्थामा अपनाउने उपायहरूको बारेमा जानकारी हुनु जरुरी छ।
त्यसैले क्लोरिनेसन गर्दा माथि उल्लिखित सबै पक्षहरूमा ध्यान दिएर मात्र कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहन्छ। नियमित तालिम, जनचेतना र प्रविधिको पहुँचले यस कार्यलाई अझ प्रभावकारी बनाउन सक्छ।
खानेपानीमा क्लोरिनेसन एक सरल तर अत्यन्त संवेदनशील प्रक्रिया हो। यसलाई सावधानीपूर्वक, वैज्ञानिक तरिकाबाट र आवश्यक परीक्षण तथा अनुगमनका साथ प्रयोग गर्दा मात्र जनस्वास्थ्यको रक्षा सम्भव हुन्छ।


1590 पटक हेरिएको 

