प्यूठान : हिउँदमा पानी नपरेपछि माण्डवी गाउँपालिका १ तीराममा स्थानीयले निर्माण गरेका घैंटामा पानी भरिएका छैनन् । वर्षाका बेला जम्मा गरेको पानी सकिएपछि स्थानीयलाई जोहो गर्न मुस्किल परेको छ ।
पानी समस्याले सताइएको गाउँमा ३ वर्षअघि तत्कालीन जिविस (पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना) अन्तर्गत पानी संकलन गर्न १ सय ३० सिमेन्ट घैंटा निर्माण गरिएका थिए । घैटामा संकलन भएको पानी स्थानीयले उपभोग गर्दै आएकामा यसपालि सबैका रित्तिएपछि गाउँमा पानीको हाहाकार भएको हो । घैंटो निर्माण गर्न झन्डै ८० हजार रुपैयाँ खर्च भएको स्थानीय यामबहादुर घिमिरेले बताउनुभयो।

‘घैंटा निर्माण भएर के गर्नु रु पानी नपरेकाले गाउँभरिका घैंटा रित्तेका छन्,’ घिमिरेले भने, ‘यसपालि निकै समस्या भोग्नुपर्यो ।’ उहाँले केही गाउँलेले टयाक्टरमा पानी बोकाएर भरे पनि गरिबले एक गाग्रीका लागि दिनभरको समय खर्चनु परेको बताउनुभयो ।
उहाँका अनुसार झिंमरुक खोलाबाट टयाक्टरमा पानी बोकाउनुको विकल्प छैन । त्यसका लागि ५ हजार रुपैयाँ लाग्ने घिमिरे बताउनुहुन्छ । ‘६ हजार ५ सय लिटर पानी अटाउने घैंटा सबैका घरमा बनेका छन्,’ घिमिरेले भन्नुभयो ‘हिउँदमा पानी परेको वर्ष घैंटा निर्माणले सजह थियो । यसपालि पानी नै परेन निकै समस्या भो ।’
२०२२ मा निर्माण भएको खानेपानी आयोजनाको मूल सुकेदेखि गाउँमा पानीको समस्या चरम भएको स्थानीय डिला खत्रीले बताउनुभयो । । ‘आकासे पानी संकलन गर्ने घैंटा बन्यो भनेर हौसियौं,’ खत्रीले भन्नुभयो ‘पानी नपरेपछि यसको काम लागेन ।’ तीरामको घुर्केचौरमा पानी तेल जत्तिकै महत्त्व भएको उहाँको भनाइ छ ।
खानेपानीका लागि बोकेर जोहो गरे पनि पशुचौपाया पाल्न झन् समस्या भएको उहाँले दुःखेसो गर्नुभयो ।
निर्वाचित जनप्रतिनिधिसँग स्थानीयले लिफ्ट खानेपानी आयोजनाको माग गरेको खबर कान्तिपुर दैनिकले छापेको छ । ‘लिप्टबाहेक यहाँ पानी ल्याउने कुनै विकल्प छैन,’ खत्रीले भन्नुभयो ‘ठूलो लागत लाग्ने भएकाले होला खानेपानी कार्यालय र गाउँपालिका कसैले हामीलाई खानेपानी योजना दिएनन् ।’ उहाँका अनुसार पानीको समस्याले गाउँमा चलेको सरसफाइ कार्यक्रम समेत प्रभावित भएको छ ।


768 पटक हेरिएको 

